लागू भयो स्वचालित मुल्य प्रणाली, फेरी घट्यो पेट्रोलियम पदार्थको मुल्य : अब कति भयो ?

मूलखबर संवाददाता
काठमाडौं, ३१ असार ।

सरकारले फेरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको जनाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको जनाएको हो । निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको पनि बताएको छ ।

आयल निगमले निगमले पत्रकार सम्मेलनमार्फत मूल्य घटाएकोबारेमा जानकारी गराए अनुसार पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र ग्याँसमा १० रुपैयाँ घटाएको छ । यसपटक घटेपछि ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेपछि अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

स्वचालित प्रणाली अनुसार अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।