२३ वटा निर्माण कम्पनी कालाेसूचीमा पर्दै, यस्तो छ सरकारी तयारी
सरकारले समयमा काम सम्पन्न नगर्ने र गुणस्तरहीन काम गर्ने विभिन्न २३ वटा निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।
देशभरका विभिन्न आयोजनामा ठेक्का लिएर जिम्मेवारी पुरा गर्न ढिलासुस्ति गर्दै आएका तथा सन्तोषजनक काम नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकाल्दै विभिन्न २३ वटा कम्पनी तथा सप्लायर्सलाई कालो सूचिमा नराख्नुपर्ने कारण माग गरेको छ । सात दिनभित्र लिखित जवाफ सहित कार्यालयमा नगए सबै निर्माण कम्पनी र सप्लायर्सलाई कालो सूचिमा राख्ने चेतावनी दिएको हो ।
सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो ।
सात दिनभित्र यदि पनि स्पष्टीकरण नदिए उक्त २३ वटा कम्पनीहरू कालो सूचीमा पर्नेछन् । कालाे सुचीमा परेमा ती कम्पनीहरूले बैंकिङ काराेबार गर्न बन्देज हुनुका साथै भविष्यमा अन्य ठेक्का तथा कामहरू समेत पाउनबाट बञ्चित हुनेछन् ।