पहिलोपटक वर्ग विभाजन गरि घट्याे पेट्रोलियम पदार्थको मूल्य, कहाँ कति ?

मूलखबर संवाददाता
काठमाडौं, १९ असार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पहिलोपटक वर्ग विभाजन गरि मूल्य घटाएको छ ।

निगमले  पहिलो, दोस्रो र तेस्रो वर्ग विभाजन गरि न्युनतम प्रतिलिटर ५ रुपैयाँ देखि ७ रुपैयाँ ५० पैसासम्म घटाएको हाे ।

निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी तेस्रो वर्गमा राखिएको काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँका दरले मूल्य घटाएको जनाएको छ ।

यसैगरि, निगमले पहिलो वर्गमा राखेको तराईको हकमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको बताएको छ । त्यसैगरि, दोस्रो वर्गमा राखेको सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मुल्य घटाएको निगमले जनाएको छ ।

सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले यसरी मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारि दिए ।

निगमले यसपटक तराई (चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखिएको जनाएको छ । यसैगरि, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं‚ पोखरा र दीपायललाई राखिएको निगमले जनाएको छ ।

यसरी घटाईएको नयाँ मुल्यदर अनुसार अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०-१५० रुपैयाँ पर्नेछ । यसैगरि, तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५ पैसा पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७ रुपैयाँ ५ पैसा/ १४७ रुपैयाँ ५ पैसा पर्नेछ ।

त्यसैगरि, सुर्खेत र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको जनाएको छ ।

यसैगरि, निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ ।

निगमका अनुसार घटाईएर नयाँ निर्धारण गरिएको यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट गत १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा निगमले सोमबार यस्तो निर्णय गरेको हो ।

यसैगरि, निगमले साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको जनाएको छ ।

नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋण तथा मूल्य स्थिरीकरण कोष लगायतका अन्य दायित्वहरुको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको भएपनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले यो मूल्य समायोजन गरेको निगमले सोमबार जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।