काेशी प्रदेशमा सरकार निर्माणकाे सकस : कांग्रेस नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

मूलखबर संवाददाता
काठमाडौं, १८ असार

सत्ता गठबन्धन बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने प्रस्ताव लैजाने सहमति गरेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले कोशी प्रदेश सभा कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने सहमति गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे जानकारी दिनुभयो।

कोशी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको र छलफलपछि कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउने प्रस्तावमा सहमति भएको बैठकपछि उहाँले जानकारी दिनुभएको हो।

बैठकपछि नेता पाण्डेले भन्नुभयो, ‘‘कोशी प्रदेशको सरकार गठनको कुरा छ । त्यसको लागि संघीय सरकारमा गठबन्धनमा भएका दलहरुको तर्फबाट पनि के सुझाव दिने भन्दा नेपाली कांग्रेसको संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा अघि सार्ने सल्लाह दिएका छौँ । अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ । त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सिट संख्या पनि उहाँहरुलाई नै पुर्‍याउने जिम्मेवारी दिएका छौं ।’’

बैठकमा कोशी प्रदेश सरकारमा राप्रपालाई सँगै लिएर अगाडि बढ्ने विषयमासमेत छलफल भएको जानकारी दिनुभएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि केन्द्रकै गठबन्धनले कोशी प्रदेशमा सरकार बनाउने प्रयास गरिरहेको छ।

आइतबार साँझ कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते साँझ ५ बजेसम्म सरकार गठबनका लागि आह्वान  गर्नुभएको छ।