समाजवादी माेर्चा घाेषणा, परिवर्तन पक्षधरलाई एकताबद्व हुन आव्हान

मूलखबर संवाददाता
काठमाडौं, ४ असार

सत्तारूढ कम्युनिस्ट घटकहरूबीच समाजवादी माेर्चा घाेषणा भएको छ । राजधानीकाे राष्ट्रिय सभागृहमा आयाेजित कार्यक्रममा माेर्चाकाे घाेषणा भएको हाे । नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच माेर्चाकाे निर्माण भएको हाे ।

कार्यक्रममा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर एकताबद्व हुन आव्हान गर्नुभएको छ ।उहाँले समाजवादी मोर्चा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताउनुभएको छ ।  समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले मोर्चा घोषणा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेहरुका लागि युद्धको घोषणा भएको बताउनुभयो ।  “परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोज्नेका विरुद्ध यो मोर्चा एक प्रकारको युद्ध हो” उहाँले भन्नुभयो ।

मोर्चा जनताको पक्षमा, प्रगतिशील र वामपन्थीको पक्षमा भएको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भुमिका खेल्ने सबैलाई मोर्चासँग हातेमालो गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

“हामी परिवर्तनका पक्षधर, विभिन्न संघर्ष र बलिदानबाट गुज्रिएका पार्टी र नेताहरुलाई, विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौँ सहिदहरु र बेपत्ताहरु, क्रान्तिकारीहरुको त्याग, तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, ह्युमुलेट गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरुले टाउको उठाउन खोजेकै छन” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्व भएको चर्चा गर्नुभयो । विप्लव नेतृत्वको दल समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफुहरुमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डले नेता, कार्यकर्ताहरुको उत्साहले समाजवादी मोर्चाको औचित्य स्थापित भइसकेको बताउनुभयो । समाजवादी मोर्चालाई अभियानको रुपमा लैजाने उहाँले विश्वास दिलाउनुभयो । आवश्यक पर्दा परिवर्तनका लागि  आफूहरु सडकमा समेत जाने उहाँले बताउनुभयो ।