मन्त्रीपरिषद बैठक : मुख्यसचिवमा अर्याल नियुक्त
सरकारले मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज विहान सम्पन्न मन्त्रीपरिषद बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. अर्याल एक कुशल र शालीन प्रशासकका रूपमा परिचित छन् । वि।सं। २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका डा. अर्याल सचिवमा बढुवा भएपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिसकेका छन् ।
नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव हुन् । अर्थविदसमेत रहेका डा। अर्यालले अर्थ मन्त्रालयमा रहँदा विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
गत चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर आर्थिक तथा पूर्वाधार विकासबारेमा काम गरेका थिए ।
अर्यालको पाँच वर्षे सचिवको कार्यकाल असार ३ गते पूरा हुने थियो । वर्तमान मुख्यसचिव सङ्करदास वैरागीको मुख्यसचिवको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको थियो ।
यसैबीच, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्य सचिव शङ्करदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरी शपथसमेत गराउनु भएको छ ।