मनसुन भित्रियाे : लमजुङमा सबैभन्दा बढी वर्षा
लामाे खडेरीले आक्रान्त नेपालमा एक दिन ढिला गरेर मनसुन प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको थियाे । बुधबार पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभाव मधेस प्रदेशको पूर्वी भागमा देखिएको जनाएको छ ।
बुधबार साँझ ६ बजेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको लमजुङमा रहेको कुन्छास्थित वर्षा मापन केन्द्रमा भएको छ । त्यहाँ १०६.२ मिलिमिटर(एमएम) वर्षा मापन भएको पूर्वानुमान महाशखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । त्यसपछि सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा मापन गरिएको छ । दामनस्थित मापन केन्द्रमा ९२ एमएम वर्षा मापन भएको छ । मकवानपुरकै चिसापानीगढीमा ८५.६ एमएम वर्षा मापन भएको झाले जानकारी दिए ।
कोसी प्रदेशमा बुधबार साँझ ६ बजेसम्मको तथ्यांकमा सबैभन्दा बढी वर्षा भोजपुरमा गरिएको छ । भोजपुरमा ५४ मिलिमिटर वर्षा मापन गरिएको पूर्वानुमान शाखाले जनाएको छ । यस्तै, काठमाडौंको बूढानीलकन्ठमा ६०.६, सुन्दरी जलमा ५५ र त्रिभुवन विमानस्थलस्थि केन्द्रमा ५४.४ एमएम वर्षा मापन गरिएको छ । विभागले १० एम कम वर्षालाई हल्का, ११ देखि ५० एमभन्दा कम वर्षालाई मध्यम र ५० देखि सय एमएमभन्दा कम वर्षालाई भारी वर्षा भन्ने गर्छ भने सय देखि २ सय एमएमभन्दा कमलाई ‘धेरै भारी वर्षा’ भन्ने गर्छ ।
पूर्वानुमान महाशाखाले एक दिन ढिला गरेर भित्रिएको मनसुनलाई सामान्य रूपमा लिएको छ । मौसमविद् झा भन्छन्,’यो वर्ष एक दिन ढिला गरेर मनसुन भित्रियो । अन्य वर्षहरूको तुलानामा यो सामान्य हो । ‘ गत वर्ष जुन ५ मा मनसुन भित्रिएर अक्टोबर १६ मा बाहिरिएको थियो । नेपालमा जुन १३ देखि अक्टोबर २ लाई मनसुनको समय भनेर विभागले परिभाषित गरेको खबर कान्तिपुरमा छ ।