प्रधानमन्त्री आज फर्किँदै, भारत भ्रमण पूर्ण सफल : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्कँदै हुनुहुन्छ । चार दिने भारत भ्रमणका बारेमा विभिन्न काेणबाट टिप्पणी आइरहेको बेला स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको बताउनुभएको छ । यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको उहाँको दावी छ।
सञ्चारकर्मीसँग इन्दाेरमा कुरा गर्दै उहाँले भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता आफैँमा महत्त्वपूर्ण रहेको र समग्र देशको हितलाई केन्द्रमा राखेर आफूले छलफल गरेको बताउनुभयो । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उहाँले भन्नुभयाे- भ्रमण खास अर्थमा फलदायी भएको छ ।
ऊर्जा व्यापारका सम्बन्धमा भएका सहमति आफैँमा एक प्रकारको ‘ब्रेक थ्रु’ नै हो । जुन कुरा हामीले लामो समयदेखि चाहिरहेका थियौँ”, उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलका आधारमा ऊर्जाको दीर्घकालीन व्यापारमा सहमति भएको हो ।”
नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठूलो लगानी भित्र्याउनसमेत बल पुग्ने उहाँको भनाइ छ । दश वर्षमा १० हजार मेगावाट भारतले आयात गर्ने कुरा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ । भारतीय कम्पनी सतलजले सङ्खुवासभामा निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो, सोही कम्पनीले जिम्मा पाएको तल्लो अरुण जस्ता आयोजनाको सफल उदाहरण छ ।
निजी क्षेत्रले उठाउँदै आएको मागबमोजिम बिजुली व्यापारमा भएको सहमतिले नयाँ विश्वास र आधार तयार पारेकामा प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत एक हजार दुई सय मेगावाट बराबरको बिजुली सहजरूपमा भारत निर्यात हुने वातावरण बनेको छ । यसअघि चिनियाँ कम्पनीको सहभागिता रहेको भन्दै भारतीय पक्षले सो आयोजनाको बिजुलीसमेत लिन मानेको थिएन ।
विश्वव्यापी बोलपत्रका माध्यमबाट छानिएर आएका जुनसुकै कम्पनीको बिजुलीसमेत भारतले सहजरूपमा लिने विषयमा पनि सहमति भएको छ । यस्तै, नेपालको बिजुली बङ्गलादेश लैजाने सन्दर्भमा समेत ऐतिहासिक सहमति भएको छ । बङ्गलादेशले तत्कालका लागि ५० मेगावाट बिजुली लैजाने भएको छ । त्यसका लागि भारतीय पूर्वाधार प्रयोग गर्नुपर्छ ।
प्रधानमन्त्री दाहालले नेपाल, भारत र बङ्गलादेशबीच अब त्रिपक्षीय सहमति नै भएको भनेर मान्न सकिने उल्लेख गर्नुभयो । नेपालका केही ठूला आयोजनामा बङ्गलादेशले लगानी गर्न इच्छा व्यक्त गर्दै आएको छ ।
प्रधानमन्त्रीले लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको र हरेक जसो प्रधानमन्त्रीको भारत भ्रमणमा चर्चामा आउने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा समेत महाकाली सन्धिको मर्मअनुसार अगाडि बढ्न आफूहरू सहमत भएको बताउनुभयो ।
यस्तै, नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान नगर्दासम्म दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्न नसक्ने र सधैँ यस्तै जटिलता रहिरहने भएकाले पनि यसलाई समाधान गर्न भारत तयार भएको उहाँले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीले नै समस्या समाधानमा लागौँ भन्नुभएको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई पनि सकारात्मकरूपमा लिन सकिने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले स्वच्छ ऊर्जाको अभियानमा लागेको भारतले नेपालको बिजुली आयात गर्नेतर्फ केन्द्रीत हुनु र त्यसका लागि दीर्घकालीनरूपमा अगाडि बढ्न सहमत हुनु पनि आफैँमा महत्त्वपूर्ण विषयका रूपमा अर्थ्याउनुभयो । नेपालको बिजुलीको बजार छैन भनेर अब कोही पनि विदेशी लगानीकर्ताले लगानीका लागि डर मान्नुपर्ने अवस्थाको अन्त्य भएको प्रधानमन्त्रीको भनाइ छ ।
उहाँले आफ्नो जोड देशभित्रै बिजुलीको खपत बढाउनुपर्छ भन्नेमा नै रहेको बताउनुभयो । तत्काल माग बढ्न नसकेको अवस्थामा बिजुली खेर फाल्न नहुने भन्दै उहाँले त्यसबाट व्यापार घाटा कम गर्न सहयोग पुग्ने बताउनुभयो । “अब यस क्षेत्रमा ठूलो मात्रामा लगानी हुने वातावरण बनेको छ । नेपालको बिजुलीको बजारसमेत सुनिश्चित भएको छ”, प्रधानमन्त्रीले भन्नुभयो “यो आफैँमा ऐतिहासिक छ ।”