तीन क्षेत्रमा उपनिर्वाचन र चर्चा बढि चितवनकाे

मूलखबर संवाददाता
काठमाडौं

बैसाख १० नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दो छ । उपनिर्वाचन हुन लागेका ३ क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मध्ये सबैभन्दा बढि चर्चा र चासाे चितवन २ काे देखिन्छ ।

मङ्सिर ४ गतेको चुनाव जितेर उपप्रधान एवम् गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामेछानेको चुनावी क्षेत्र चितवन–२ अझ बढी चर्चामा छ ।

मङ्सिर ४ गतेको चुनावबाट रास्वपा प्रत्यक्षमा सात तथा समानुपातिकमा १३ गरी २० सिट जितेर संसदमा चौथो शक्तिको रूपमा देखा परेको थियो । पार्टी सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए । तर दोहोरो नागरिकता प्रकरणमा लामिछानेलाई सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो । लामिछानेले पुनः नागरिकता प्राप्त गरी दोस्रो पटक उम्मेदवार बनेका कारण पनि चितवन–२ विशेष चर्चामा छ ।

तनहुँ–१ पनि उसैगरी चर्चामा छ । यसै क्षेत्रबाट चुनाव जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपचुनाव हुन लागेका कारण चर्चित बनेको होइन । रास्वपाका उम्मेदवार अर्थविद् डा. स्वर्णिम वाग्लेका कारण यो क्षेत्र पनि चर्चामा आएको हो । योजना आयोगका पूर्वउपाध्यक्ष एवम् मङ्सिर ४ गते भएको चुनावमा नेपाली कांग्रेसको चुनावी घोषणापत्र मस्यौदा समितिको संयोजककारूपमा रहेका वाग्ले कांग्रेस छोडेर रास्वपाबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

बारा–२ चाहिँ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पुनः उम्मेदवार भएकाले चर्चित बनेको छ । यादव मङ्सिर ४ गते भएको चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग सप्तरी–२ मा पराजित हुनुभएको थियो । जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा–२ मा उपचुनाव हुन लागेको हो ।

अदालतले लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा दोषी ठहर गरेपछि लामिछानेकै कारण उपचुनाव हुन गइरहेको भन्ने आरोप लगाइरहेका छन् भने पछिल्लो समय रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको अडियो टेप प्रकरण, लामिछानेको चालक छतबाट खसेर गम्भीर घाइते भएकादेखि दोहोरो राहदानीका सन्दर्भमा मुद्दा नचलाउन अहिलेको गठबन्धन सरकारलाई समर्थन दिएको सन्दर्भमा हरेक कोणसभादेखि सामाजिक सञ्जालसम्म पनि उहाँले उत्तर दिनु परिरहेको छ ।

गएको मङ्सिरमा भएको चुनावमा लामिछाने प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठभन्दा ३४ हजार दुई सय ८१ बढी मत ल्याएर विजयी हुनुभएको थियो । अहिले भने उहाँकै विषयमा धेरै प्रश्नहरू उठेको र उहाँकै कारण उपचुनाव हुन लागेको भन्ने विपक्षी दलको प्रचारबाजीका कारण रास्वपाका लागि सोचेजस्तो सजिलो छैन । उपचुनावमा कांग्रेसबाट पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेका जिल्ला अध्यक्ष एवम् युवा नेता नारायणप्रसाद न्यौपाने उम्मेदवार हुनुहुन्छ ।

अघिल्लो चुनावमा लामिछानेले राम्रो भोट ल्याएको कालिका नगरपालिकाका स्थायी बासिन्दा श्रेष्ठ तथा भरतपुर महानगरपालिकामा राम्रो पकड भएका एमालेका नेता न्यौपाने दुवै स्थानीय बासिन्दा एवम् युवा उम्मेदवार भएका कारण पनि रास्वपाले यसअघि आफूले ल्याएको मत जोगाउन निकै मुस्किल पर्ने देखिन्छ ।

मङ्सिर ४ गतेको चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार नाै सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ६७ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेसले आफ्ना महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई चुनावी मोर्चा सम्हाल्न चितवनमा खटाएको छ । एमालेले गोकुल बाँस्कोटालाई खटाएको छ भने अन्य केन्द्रीय तहका नेताहरूको चितवन दौडाहा पनि राम्रै छ । यसअघि सहरी क्षेत्रबाट कम भोट पाएका कारण कांग्रेस र एमाले यस पटक सहरी क्षेत्रमा बढी केन्द्रित भएका छन् भने रास्वपा भने यसअघि ग्रामीण क्षेत्रमा कम भोट पाएका कारण ती क्षेत्रमा बढी केन्द्रित भएको छ ।