प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल : अर्थतन्त्रका समस्या सुधारकाे लागि निर्देशन
तेस्रो कार्यकालका लागि सरकारकाे नेतृत्व गर्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्नुभएको छ । देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैङ्किङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैङ्किङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राख्नुभयो । उहाँले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताउनुभयो ।