इलाम १ मा पुर्व प्रधानमन्त्री खनालद्वारा मतगणना बहिष्कार, एमालेका बस्नेत विजयी
इलाम–१ बाट नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले धाँधली भएको भन्दै मतगणना बहिष्कार गरेका छन् । जारी मतगणनामा खनाललाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत विजयी भएकाे परिणाम आएकाे छ । पूर्वप्रधानमन्त्री खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गरेका छन् भने खनालले २३ हजार ८८ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिएका छन् । तर यसबारे आधिकारिक घाेषणा भने भएको छैन । खनालले मत परिणाम बारे असन्तुष्टि व्यक्त गर्दै पुन मतगणनाकाे माग गरेका छन् । उनलेे भनेका छन्- इलाम १ को गणनामा सुरुदेखि नै रहस्यमय र धाँधलीपूर्ण गतिविधि भए । मतगणना अधिकृतले एकैपटक विभिन्न पालिकाका ३२ वटा बाकस घोप्ट्याउन लगाएछन् । त्यो अवैज्ञानिक थियो । किन यसो गरेछन् भनेर मैले कारण खोजें । पाँच सय मत गायब पारेछन् । त्यसपछि यहाँभित्र अनियमितता छ भन्ने प्रष्ट भएपछि गन्ने प्रक्रियामा कमजोरी भएको थाहा भयो । मेथर्ड बेठिक छ, कर्मचारीमाथि पनि आशंका भो । सबै आँकडा ठिक हुँदाहुँदै पनि मत कसरी गायब भयो ? यसको जवाफ नपाउँदासम्म हामी गणनामा सहभागी हुँदैनौं भनेका हौं ।