सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्न दिने सरकारी तयारी

मूलखबर संवाददाता
काठमाडौं, १९ बैसाख

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ ।

मन्त्रालयले हाल रणनीतिको मस्यौंदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्ने दिनेगरी मस्यौंदा तयारी थालिएको हो । “अहिले सरकारी अस्पताल भएका ठाउँमा निजी छन् । निजी भएका ठाउँमा सरकारी पनि छन्”, उनले भने, “रणनीतिमा अब हामीले निजी अस्पताल खोल्दा सरकारी अस्पताल नभएको ठाउँमा मात्रै खोल्ने गरी व्यवस्था गर्दैछौँ ।”

उनले यसरी निजी अस्पतालले सरकारी अस्पताल नभएको ठाउँमा खोल्दा कर छुट दिने तथा सहुलियतसमेत दिइने बताए । मन्त्रालयले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार हुने लक्ष्यसहित रणनीति तयार गर्दैछ । स्वास्थ्य रणनीति तयार गर्न विभिन्न विज्ञ, सङ्घसङ्स्था र सेवाग्राहीसँग सुझाव सङ्कलन गरिरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यका साथ रणनीति तयार पारिरहेको पौडेलले बताए । उनका अनुसार हाल रणनीतिको मस्यौदा तयारी भइरहेको हो । आगामी साउनदेखि लागू हुनेगरी मस्यौदा बनाइरहेको उनको भनाइ छ ।

“अहिले हामी सुझाव सङ्कलनको चरणमा रहेका छौँ”, पौडेलले भने, “पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य तथा शिक्षा समितिमा पनि रणनीतिकाबारेमा छलफल गर्नेछौँ ।” यस्तै सङ्घीय संरचनाअनुरुप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाइने, स्वास्थ्य क्षेत्रको उपयोग गर्दा नागरिकमा पर्ने खर्च जोखिम कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समातामूलक र सहज पहुँच सुनिश्चित गर्ने, जनसङ्ख्या, बसाइँसराइ र बढ्दो शहरीकरण व्यवस्थापन गर्ने रणनीतिका उद्देश्य रहेका छन् । रासस