एनआरएनए आइसिसि अध्यक्षमा कुँवर, सचिवमा खतिवडा मनोनितपछि, क्रोयशियामा पनि बन्यो एनसिसि

मूलखबर संवाददाता
काठमाडौं, २६ चैत

गैर आवासिय नेपालीहरुको छाता संगठन गैर आवासिय नेपाली संघ एनआरएनएको अन्तराष्ट्रिय आधिकारीक कमिटि गठन भएपश्चात राष्ट्रिय संघहरु पनि निर्माण हुन थालेका छन् ।

परराष्ट्र मन्त्रालयले दिएको म्यान्डेट अनुसार एनआएनए संस्थापक शेष घलेको अगुवाइमा भएको एनआरएनएको महाधिवेशनबाट एनआएनएका अभियन्ता विनोद कुँवरको अध्यक्षतामा नयाँ कार्यससमिति निर्माण भएको थियो । सो समितिले अर्का अभियन्ता तथा समाजसेवी धर्मराज खतिवडालाई सचिवमा मनोनित गरेपछि एनआएनएले गति लिएको छ । खतिवडाकै अगुवाईमा आइतबार क्रोयशियामा एनसिसि गठन भएको छ । सुर्य लामा साइमनको अध्यक्षतामा एनसिसि क्रोयशीयाको कार्यसमितिको गठन भएको छ ।

खतिवडाले आफुहरुले वास्तविक रुपमा एनआएनएको प्रतिनिधित्व गर्ने दावी गरेका छन् । उनले परराष्ट्र मन्त्रालयले दिएको म्याण्डेट अनुसारको एनआरएनएको कार्यसमिति आफुहरुको भएकाले तीनजना अध्यक्ष भएको भनिएको एनआरएनए बैधानिक हुन नसक्ने बताए ।

उनले शेष घलेलाई एनआरएनएको निर्वाचन गराउन मन्त्रालयले म्याण्डेट दिएको र घलेले गराएको अधिवेशनबाटै आफु रहेको समिति निर्माण भएकाले विनोद कुँवर नेतृत्वको एनआरएनएको समिति नै आधिकारीक एनआरएनए भएको दोहोर्याए । आफुहरुको गैर आवासिय नेपालीको हितमा उभिने बाहेक अन्य कुनै स्वार्थ नभएको बताउँदै उनले अब विश्वका सबै देशमा एनसिसि निर्माणको अभियान शुरु हुने बताए । त्यसको शुरुवात क्रोयशियाबाट गरिएको छ ।

समाजसेवी खतिवडा एनआएनए अष्ट्रिया एनसिसिका संस्थापक अध्यक्ष हुन् । उनको एनआरएनए अभियानमा लामो अनुभव र असल व्यक्तित्वको पहिचान रहेको छ ।