दशैं : पर्व एक, महत्व अनेक
दशैँ हिन्दुहरूको महान् चाड हो । हिन्दु जाति विश्वभरि फैलिएकाले यसलाई विश्वव्यापी चाड भन्न सकिन्छ, तापनि भारत वर्षमा यो विशेष गरी मनाइन्छ । नेपालमा भने हिन्दु–गैरहिन्दु प्रायः सबै सहभागी हुने भएकाले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ ।
दशैँ शरद् ऋतुको आश्विन महिनामा पर्छ । आश्विन महिनाको कृष्णपक्षमा पितृकर्म अर्थात् दिवङ्गत पुर्खाको स्मरण गर्ने, उनीहरूप्रति कृतज्ञ हुने र उनीहरूका सत्कर्मको स्मरण गरी सत्मार्गमा हिँड्ने प्रण गरिन्छ । शुक्लपक्षमा शक्तिस्वरूपा नवदुर्गाको पूजा–आराधना गरी हजुरबाहजुरआमा, मातापिता र अन्य मान्यजनबाट देवीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरी सबल, सक्षम र सफल हुने कामना गरिन्छ । दशैँ आश्विन शुक्ल प्रतिपदाबाट आरम्भ हुन्छ । प्रतिपदादेखि नवमीसम्मलाई नवरात्र भनिन्छ । प्रतिपदाका दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि शुद्ध माटाको वेदी बनाई, पञ्चपल्लव (आँप, वर, पीपल, डुम्री र पाख्री), दुबो, फलफूल, पान, केसर, धूप आदि राखेर पूजा गरिन्छ र उक्त बेदीमा जमरा उमार्न धान, जौ, मकै र गहुँ छरिन्छ । यस दिनमा देवी र कुमारीको पूजा गरी सप्तशती पाठ गरिन्छ ।
नवरात्रमध्ये प्रतिपदामा शैलपुत्री, द्वितीयामा ब्रह्मचारिणी, तृतीयामा चन्द्रघण्टा, चतुर्थीमा कुष्माण्डा, पञ्चमीमा स्कन्धमाता, षष्ठीमा कात्यायनी, सप्तमीमा कालरात्रि, अष्टमीमा महागौरी र नवमीमा सिद्धिदात्रीको पूजा गरिन्छ । नवरात्रमा सरस्वतीको र कुमारीको पूजा गरी नवविवाहिता नारीलाई समेत आदर र स्नेहपूर्वक भोजन गराइन्छ । कोतपूजा वा सेना र सिपाहीका शस्त्रास्त्र र पशु वाहनको पनि पूजा गरिन्छ । देवीलाई पशुपक्षी बलि दिइन्छ । दशमीमा दुर्गाको मूर्ति विसर्जन गरी विजयोत्सवका रूपमा सर्वप्रथम घरको मूलढोका र मूलथाममा साइतको टीका र जमरा टाँसेपछि मान्यजनबाट टीका, जमरा लगाएर आशीर्वाद ग्रहण गर्न थालिन्छ । यसरी मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिनेक्रम दशमीदेखि पूर्णिमासम्म चलिरहन्छ । यद्यपि, पश्चिम भेगमा स्थान विशेषमा दशमीको दिन मात्रै टीका लगाउने प्रचलन पनि छ ।
धार्मिक विश्वास के छ भने देवीले दानवी शक्ति परास्त गरेर मानवी शक्तिको उत्थान गरिन्, त्यसैको स्मृतिमा यो चाड मनाइन्छ । त्यसरी नै पुरुषोत्तम रामचन्द्रले पत्नी सीता हरण गरेर लैजाने दुष्ट रावणसँग युद्ध गर्न जानुभन्दा पहिले नवरात्रभरि देवीको आराधना गरेर शक्ति प्राप्त गरी दशमीका दिनमा रावणको बध गरे । उनले यसरी राक्षसी शक्तिलाई हराएर असत्यमाथि सत्यको विजय गराएको र त्यही विजयोत्सवको स्मृतिमा यो चाड मनाइन्छ । यसरी हिन्दुहरूले दशैँ प्राचीन कालदेखि निरन्तर रूपमा मनाउँदै आएको देखिन्छ ।
दशैँ सांस्कृतिक चाड हो । संस्कार बेगरको मानिस वा समाज कहिल्यै सुसंस्कृत, सभ्य र शिष्ट हुन सक्दैन । दशैँ मनाउन विदेश गएका र देशभित्रै विभिन्न रोजगारीमा रहेका नेपाली घर फर्कन्छन् । जो विदेशमा स्थायी रूपमा बसेका छन्, तिनीहरू त्यहीँ दशैँ मनाउँछन् । परिवारका सम्पूर्ण सदस्य जम्मा भएर मिठोमसिनो खाने, राम्रो लगाउने, गाउँघर घुम्ने, भेटघाट गर्ने, पिङ खेल्ने, मेला भर्ने र अधिकतम खुसी हुने गर्छन् ।
सत्रौँ शताब्दीका राजा महिन्द्र मल्लले निर्माण गरेको काठमाडौँको वसन्त दरबार परिसरको तलेजु भवानी मन्दिरमा दशैँघर छ । त्यहाँ पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि गोरखाबाट फूलपाती ल्याएर सप्तमीका दिन भिœयाउने चलन आरम्भ भयो । यो एक ऐतिहासिक घटना हो । यो प्रचलन अहिलेसम्म कायम रहेको देखिन्छ ।
सामाजिक दृष्टिले दशैँ झन् महìवपूर्ण देखिन्छ । यस चाडमा पहाडका गाउँघरतिर बाटाघाटा, घरआँगन सफा गर्ने, घर रातो माटो र कमेराले लिपपोत गर्ने, झ्यालढोकामा रङ लगाउने, चिउरा कुट्ने, केरा पकाउने, नयाँ लुगा सिलाउने, पिङ हाल्ने, नवरात्रभरि घरगाउँमा बाजा बजाउने, मालसिरी गाउने, लोकनृत्य गर्ने, लोकनाटक खेल्ने गरिन्छ । मधेसमा पनि गाउँघरमा नवरात्रभरि ढोल बजाइन्छ तथा ठाउँ ठाउँमा देवीका ठुल्ठुला प्रतिमा स्थापना गरी तिनको पूजाआराधना गरी मेला लगाइन्छ ।
नेपालका शक्तिपीठहरूमा जमरा राखी देवीको पूजाआराधना गरिन्छ । दुर्गापक्ष वा नवरात्र वर्षमा चार वटा हुन्छन् । ती चैत, असार, असोज र माघ महिनामा पर्छन् । तीमध्ये चैतेदशैँ सामान्य रूपमा र असोज महिनामा पर्ने दशैँचाहिँ विशेष पर्वका रूपमा मनाउने गरेको देखिन्छ । वास्तवमा नेपाली समाजले दशैँलाई व्यवसाय र समयअनुकूल पारेर मनाउन थालेको बुझिन्छ । नेपाल कृषि व्यवसायप्रधान देश हो । कृषकहरू असोजमा वर्षा ऋतुको कृषिकर्म सकेर थकाइ मारिरहेका हुन्छन् । उनीहरूका लागि यो केही फुर्सदिलो समय हो । यति बेला नेपालको जलवायु पनि समशितोष्ण हुन्छ । प्रकृति पनि अत्यन्त सुन्दर देखिन्छ । यस्तो अनुकूल समयमा पर्ने भएकाले नै दशैँ सर्वाधिक महìवको चाड भएको हो ।
दशैँ सामाजिक संस्कार पनि हो । यसबाट समाजमा सदाचार, अनुशासन र मर्यादा बढ्छ । मातृदेवो भव, पितृदेवो भव, गुरुदेवो भव भन्ने आदर्शले अनुप्राणित भएर हामी सबै परिवारका अभिभावक अन्य मान्यजनलाई आदर गर्न सिक्छौँ । दशैँमा पारिवारिक र सामाजिक पुनर्मिलन हुन्छ । आमाबाबु र सन्तान, दाजुभाइ, दिदीबहिनी, पति पत्नी, नाताकुटुम्ब आदिसँग मिलन हुन्छ । परिवारमा मान्यजनप्रति आदर बढ्छ भने मान्यजन पनि घरबाहिर रहेका परिवारका सदस्यलाई भेटेर अत्यन्त हर्षित भई उनीहरूलाई स्नेह गर्छन् र आशीर्वाद दिन्छन् । त्यस्तै दशैँले समाजमा जातीय र अन्तरजातीय सहिष्णुता र भातृत्वको विकासमा महìवपूर्ण भूमिका खेलेको देखिन्छ । गाउँमा होस् वा सहरमा सबै व्यक्ति घर फर्केका र छुट्टीमा बसेका हुन्छन् । उनीहरू आफ्ना बन्धुवान्धवसँग, इष्टमित्रसँग, टोल छिमेकका व्यक्तिसँग भेटघाट गर्छन्, नजिक हुन्छन्, विचार आदानप्रदान गर्छन्, स्नेह र सद्भाव साटासाट गर्छन् । यस्तो मधुर सम्बन्धले गर्दा स्वजन, बन्धुवर्ग र जाति जातिबीच सद्भाव, स्नेह, सहिष्णुता, भातृत्व बढ्छ । यसबाट उन्नत र सभ्य समाजको निर्माण भइरहेको हुन्छ । त्यस्तै दशैँ वीरता र शौर्यको प्रतीक पनि हो । यसबाट असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको जित, पाशविक प्रवृत्तिको त्याग साहस नगरी प्राप्त हुँदैन भन्ने सन्देश पनि पाइन्छ । दशैँले धार्मिक सहिष्णुता, अन्तरजातीय सद्भाव र राष्ट्रिय एकता पनि गराएको छ । त्यसैले यो राष्ट्रिय एकताको प्रतीक बनेको छ । यति मात्र होइन दशैँ सम्पूर्ण नेपालीको परिचयको प्रतीक पनि बनेको छ ।
दशैँले गर्दा समाजमा आर्थिक क्रियाकलाप तीव्र रूपमा वृद्धि भएको देखिन्छ । यही बेला नेपाली समाजमा उपभोग्य वस्तुको बिक्री सर्वाधिक भएको पाइन्छ । पहिले कृषक आत्मनिर्भर हुन्थे । उनीहरूका आवश्यकता पनि थोरै थिए । हाम्रो कृषि समाजमा “दशैँ आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, हट्ट पापी, छुट्टै बसौँला” भन्ने उखान प्रचलित छ । यसबाट विपन्न वर्गमा खाद्यान्नको अभाव हुन्थ्यो, उनीहरू ऋण गरेर दशैँमा मिठो भोजनको व्यवस्था गर्थे, तर इमानदार भएकाले चोरी गर्दैनथे भन्ने आशय प्रकट हुन्छ । त्यस्तै ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई’ भन्ने उखान पनि उक्तिकै प्रचलित छ । यसबाट नेपालीहरू ऋण गरेरै भए पनि दशैँमा राम्रो लवाइखुवाइ गर्छन् भन्ने आशय प्रकट हुन्छ ।
अहिले कृषिबाहेक धेरै व्यक्ति अन्य पेसामा संलग्न भएका छन् र ती परनिर्भर छन् । बजारबाट उपभोग्य वस्तु नकिनी जीवन निर्वाह हुँदैन । त्यसैले नेपालीले उपभोग्य वस्तु जस्तैः खाद्यान्न, मासु, मरमसला, लत्ताकपडा, वाहन, घरमा प्रयोग हुने अन्य सामग्री अत्यधिक मात्रामा किन्ने गरेको र वस्तुउत्पादकबीच उपभोग्य वस्तु सहुलियत दरमा बेच्ने प्रतिस्पर्धा चलेको देखिन्छ । दशैँमा आयात दरमा पनि धेरै वृद्धि भएको देखिन्छ । धार्मिक वस्तुको बिक्री वितरण पनि धेरै हुन्छ । यसरी दशैँमा आर्थिक क्रियाकलाप वृद्धि हुनु भनेको त्यति बेला सबैको उपभोग गर्ने शक्ति बढेको भन्ने बुझिन्छ । समाज मनोवैज्ञानिक दृष्टिले पनि दशैँ महìवपूर्ण देखिन्छ । पहिले मानिस धर्मभीरु थिए, इहलोकका साथै परलोक प्राप्ति वा मोक्ष प्राप्तिका लागि दुर्गाभक्ति गर्थे । शाक्तसम्प्रदायमा तन्त्रशास्त्रको प्रवेश भएपछि दुर्गा पूजा तान्त्रिक विधिद्वारा गर्न थालियो । तन्त्रसाधकहरूले दुर्गापूजा गरेर इच्छित कामना पूर्ण गर्छन् भन्ने कुरा शास्त्रमा देखिन्छ । अहिले दशैँ शारीरिक र मानसिक सुख, शान्ति र आनन्द प्राप्त गर्ने सर्वश्रेष्ठ माध्यम भएको देखिन्छ । दशैँ मनाएर व्यक्ति, परिवार, समाज र अन्ततः सम्पूर्ण राष्ट्र खुसी हुन्छ । संसारको खुसी प्रतिवेदन सूचीअनुसार ईसं २०२१ मा नेपाल विश्वका १४९ देशमध्ये ८७ औँमा परेको छ । एसियाका दक्षिणपूर्वी देशमध्ये सर्वाधिक खुसी देश भएको देखिन्छ । भारत र चीनजस्ता विकसित देशभन्दा नेपाल कसरी खुसीको सूचीमा अगाडि आयो रु वास्तवमा नेपाली यसरी खुसी हुनाका कारणमध्ये प्रमुख सांस्कृतिक चाडपर्व धुमधामसँग मनाएर आनन्दित हुनु नै हो ।
संस्कृति परिवर्तनशील हुन्छ । यसलाई विचार, समय, उत्पादन प्रणाली, जीवनशैली, व्यवसाय, शासनसत्ता आदिले प्रभाव पार्छन् । त्यसैले दशैँ मनाउने तरिकामा परिवर्तन आएको छ, तर यसको मौलिकता यथावत् छ । पाश्चात्य भौतिकवादी विचारको दुष्प्रभावले रुढिवाद र अन्धविश्वासमा आधारित भनेर दशैँको धार्मिक र सांस्कृतिक महìवलाई धूमिल पार्ने प्रयास पनि भएको पाइन्छ । यसमा केही विकृति पनि देखिन्छन् । धनीले आडम्बर प्रदर्शन गर्ने, गरिबले अधिक खर्च गर्ने, जुवातास खेल्ने, मद्यपान सेवन गरेर लडाइँ, झगडा, मारकाट गर्ने, मेला आयोजना गरेर जुवा खेलाउने, अश्लील नृत्य प्रदर्शन गर्ने गरेको पनि देखिन्छ । यस्ता कार्य रोक्नु सरकार र हामी सबैको कर्तव्य हो । गोरखापत्रमा प्रकाशीत