कर्णाली प्रदेश मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त : एमालेका ४ सांसदले यसरी गरे फ्लोर क्रस
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत प्राप्त भएको छ । नेकपा माओवादी केन्द्रका शाहीले शुक्रबार प्रदेशसभामा विश्वासको मत पाएका हुन् । एमालेका चार सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेपछि उनलाई विश्वासको मत प्राप्त भएको तथा उनको नेतृत्वमा रहेको सरकार जोगिएको हो । शाहीको पक्षमा एमालेका ४, उनको दल माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सहित २२ सांसदले मतदान गरेका छन् ।
विश्वासको प्रस्ताव पारित हुन २० सांसद चाहिएको थियो । एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको ह्वीप उल्लंघन गरेका हुन् । सांसद देवी ओलीले ‘फ्लोर क्रस’ गरे पनि पछि सच्याएकी थिइन् । उनीहरू माधव नेपालपक्षीय सांसद हुन् । ३९ सदस्यीय प्रदेशसभामा प्रस्तावको विपक्षमा १५ मत परेको थियो । राप्रपाकी एक्ली सांसद सोसिला शाही तटस्थ बसिन् भने सभामुखले संवैधानिक व्यवस्थाअनुसार मतदान गर्न पाएनन् ।
पार्टी एकताअघि २०७४ फागुनमा तत्कालीन एमालेले संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनका लागि माओवादी केन्द्रका संसदीय दल नेता शाहीलाई समर्थन दिएको थियो । नेकपा गठनपछि शाहीले बहुमत प्राप्त दलको सरकारको नेतृत्व गरेका थिए । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केपछि कर्णाली सरकार पुनः धारा १६८९२० को अवस्थामा पुगेको थियो । एमालेले एक महिनाअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाबमोजिम मुख्यमन्त्री शाहीले बुधबार प्रदेशसभा सचिवालयमा प्रक्रिया अघि बढाएका थिए । मुख्यमन्त्रीनिकट स्रोतका अनुसार चैत तेस्रो साता नै माओवादी केन्द्र, कांग्रेस र एमालेको माधव नेपाल समूहबीच विश्वासको प्रस्तावलाई पारित गर्ने सहमति भएको थियो । तर सहमति बाहिरिँदा नेपाल समूहका सांसदलाई मतदानबाट वञ्चित गर्न सक्ने जोखिमलाई ख्याल गर्दै गोप्य राखिएको थियो । ‘हामी अगाडि नै विश्वासको मतको पक्षमा खुल्यौं भने नेपाल समूहका सांसदमाथि कडाइ हुने निश्चित थियो,’ कांग्रेसका एक सांसदले भने, ‘त्यसैले सावधानीपूर्वक विश्वासको मतलाई पारित हुन सघाएका हौं ।’
यसरी भयो फ्लार क्रस
शुक्रबार दिउँसो २ बजे संसद् बैठक सुरु हुँदै थियो । प्रदेशसभा परिसरमै रहेको एमाले संसदीय दलको कार्यालयमा १९ जना सांसद एकमत थिए । ज्वालाले ‘सन्चो नभएको’ भन्दै खासै बोलेनन् । कुर्मराज शाही र अमरबहादुर थापाले भने विश्वासको मतको विपक्षमा डटेर लाग्ने प्रतिबद्धतासहित भाषण गरे । ‘यसले गर्दा विश्वासको प्रस्ताव असफल हुनेमा ढुक्क थियौं, तर त्यो सब नाटक रहेछ,’ एमाले सांसद सुशील थापाले भने, ‘संसद्मा अपत्यारिलो तरिकाले फ्लोर क्रस गरेपछि हामी छक्क पर्यौं ।’
ज्वालासहितका ‘फ्लोर क्रस’ गर्ने सांसदहरू शुक्रबार बिहान करिब साढे ११ बजेसम्म मुख्यमन्त्री निवासमै थिए । उता एमाले संसदीय दलको कार्यालयमा दलको बैठकले उनीहरूलाई कुरिरहेको थियो । मुख्यमन्त्री निवासबाट निस्किएर उनीहरू बैठकमा सामेल भए । बैठकमा ज्वालाले संसदीय दलको निर्णय मान्ने संकेत गरेका थिए । ‘फ्लोर क्रस’ गरेका सांसदद्वय शाही र थापाले भने विश्वासको मतलाई परास्त गर्ने भाषण गरेका थिए । त्यही बैठकले विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।
बैठकबाट निस्केर प्रदेशसभा बैठक कक्षमा पुगेपछि ज्वाला दलका नेता कँडेलको दायाँतिर बसे । मतदान गरेपछि भने उनी पछाडिको लाइनमा गएर बसेका थिए । ‘फ्लोर क्रस’ गरेका अन्य सांसद पनि ज्वालासँगै पछाडिको लाइनमा गएर बसे । शुक्रबार बिहान कान्तिपुरसँगको छोटो कुराकानीमा ‘फ्लोर क्रस’ गर्नेमध्येका एक सांसद थापाको भनाइ थियो, ‘एमालेको एक्लै बहुमत पुग्छ, सरकार हाम्रै बन्छ होला ।’
चौथो प्रयास असफल
तीन वर्षअघि एमाले र माओवादी केन्द्रले भागबन्डा कर्णाली माओवादी केन्द्रको भागमा परेको थियो । तर अन्तिम समयसम्म पनि एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीको दाबी छाडेका थिएनन् । केन्द्रको निर्देशनपछि शाही मुख्यमन्त्री त बने, तर ३ वर्षसम्म उनको एउटै गुनासो रह्यो, ‘मलाई उहाँ ९कँडेल० ले काम गर्न दिनुभएन ।’ हुन पनि यस अवधिमा कँडेलको अगुवाइमा मुख्यमन्त्रीविरुद्ध चार पटक कुर्सीबाट हटाउने खेल भयो ।
समर्थन फिर्ता प्रकरणभन्दा अगाडि तत्कालीन नेकपा संसदीय दलमा दलका नेता रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । पछि नेपाल समूहका सांसदहरूको सहयोगमा कात्तिक ७ गते उक्त प्रस्ताव असफल भयो । २०७७ फागुनमा केही सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान चलाएका थिए । २०७६ साउनमा समेत केही सांसदले भनेअनुसार बजेट संशोधन नभए सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने आशयसहित हस्ताक्षर संकलन गरेका थिए । ‘सुरुदेखि नै मुख्यमन्त्रीलाई काममा सघाउनेभन्दा पनि कसरी असफल बनाउने भन्नेमा बढी मिहिनेत गरियो,’ माओवादी केन्द्रकी मुख्य सचेतक सीता नेपालीले भनिन् ।
४ सांसदलाई कारबाही सिफारिस
निर्देशनविपरीत फ्लोर क्रस गरेका चार सांसदलाई एमाले संसदीय दलले पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको छ । शुक्रबार साँझ दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
‘फ्लोर क्रस’ गरेर पछि आफ्नो मत सच्याएकी देवी ओलीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए ।
संसदीय दलको निर्देशनविपरीत फ्लोर क्रस गरेका प्रकाश ज्वाला एमाले पोलिटब्युरो सदस्य हुन् । सल्यानबाट प्रदेशसभामा निर्वाचित उनी कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री थिए । एमाले संसदीय दलको निर्देशनपछि उनले १० दिनअघि मन्त्रीबाट राजीनामा दिएका थिए ।
डोल्पाबाट निर्वाचित नन्दसिंह बुढा पनि शाही नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए । उनले पनि ज्वालासँगै मन्त्रीबाट राजीनामा दिएका थिए । दैलेखका अमरबहादुर थापा संविधानसभाका सदस्य भइसकेका पुराना नेता हुन् । कालीकोटका कुर्मराज शाही पहिलो पटक जनप्रतिनिधि चुनिएका युवा नेता हुन् । नेकपाको विवादका बेला उनी संसदीय दलको सचेतक भएका खबर कान्तिपुरमा छ ।