नारायणकाजी श्रेष्ठ भन्छन्- केपीले राजीनामा दिए नयाँ ढंगले साेच्न सकिन्छ

मूलखबर संवाददाता
काठमाडौं, २५ फागुन

– प्रधानमन्त्री आफैंले भंग गरेको प्रतिनिधिसभामा उहाँ जानु हुँदैन, राजीनामा दिनुपर्छ भनेर हामीले भनेका थियौं। अब एकीकरण नै पछाडि धकेलिएपछि उहाँले स्वत: राजीनामा दिनुपर्ने भन्ने हाम्रो कुरा हो।

– अहिलेसम्म सरकारको समर्थन फिर्ता लिएका छैनौं। अहिलेको परिस्थितिमा राजीनामा दिएर उहाँले सरकार गठनको बाटो खोल्नुपर्छ।

– अहिलेको बेला सरकार निर्माण, संविधान कार्यान्वयन र राजनीति सही दिशामा लैजाने विषयमा नेपाली कांग्रेस र जसपासँग वार्तामा जोड दिएका छौं। तर एमालेसँगको वार्ता र सहकार्य अस्वीकार गर्दैनौं।

– हामी कम्युनिष्ट एकताको पक्षधर हौं। उहाँले राजीनामा दिनुभयो, पार्टीलाई पनि नयाँ ढंगले अगाडि बढाऔं भनेर प्रस्तुत हुनुभयो भने हामी खुला ढंगले छलफल गर्न तयार हुन्छौं।

– पार्टी एकता गर्ने कि भंग गर्ने अदालतले भन्ने हो? नामको कुरा छाडेर एकीकरण भंग भयो भन्न पाइन्छ? यसप्रति हाम्रो तीव्र असहमति छ।

– बादल लगायतका नेताहरूलाई ल्याउने वा कारवाही गर्ने भन्ने विषयमा म टिप्पणी गर्दिनँ। अदालतको फैसलाले सामान्यतया आफ्नो पार्टीमा फर्कने भनेको छ। त्यसबारे उहाँहरू आ-आफ्नो दृष्टिकोण बनाउन स्वतन्त्र हुनुहुन्छ। हामी उहाँहरूलाई छिट्टै आफ्नो दृष्टिकोण स्पष्ट पार्न अपिल, विचार र स्थिति गर्न चाहन्छौं।

– प्रचण्डले नै भयो आधा आधा किन भन्नुपर्‍यो राम्रो सरकार चलाउनुहुन्छ भने तपाईं नै चलाउनुहोस् भनेर केपी ओलीलाई दिएको हैन। तर सरकार बनेपछि ९ महिनासम्म पार्टीको कुनै बैठकमा अजेण्डा नै बनेन। बरू सरकारले पर्फरमेन्स नदेखाएपछि पार्टीमा छलफल गरौं भनेको हो।

– केपी ओलीसँग नजुध्न पाएको भए हुन्थ्यो भन्ने लागेको छैन। मुख्यकुरा आफ्नो व्यक्तिगत स्वार्थ पूरा भएन भने संविधान नै हत्या गरिदिने र पार्टी नै फुटाउने काम केपी ओलीले गर्नुभयो, त्यो नितान्त गलत हो। व्यवहारिक रुपमा पार्टी र सरकारलाई नयाँ ढंगले लैजाने वातावरण तयार गर्नुभयो भने एकीकरण गर्नुपर्छ भन्ने पक्षमा म अझै छु।- सेताेपाटी