प्रजातन्त्र दिवसमा शुभकामना दिँदै के भने सभामुखदेखि राष्ट्रपतिसम्मले ?
काठमाडौं, ७ फागुन ।
आज फागुन ७ गते । प्रजातन्त्र दिवस । १ सय ४ वर्षे जहानियाँ राणा शासनको अनत्य गरी २०७७ साल फागुन सात गते आजकै दिन नेपालमा प्रजातन्त्र स्थापना भएको निलार्य हरेक वर्ष प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।
प्रजातन्त्र दिवसका दिन राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र सभामुख अग्नी प्रसाद सापकोटाले शुभकामना सन्देश जारी गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन्।
सभामुख सापकोटाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‛यस अवसरमा देशमा लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न संघर्षका क्रममा जीवन आहुति दिएका सम्पूर्ण महान सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यो लामो र कठीन संघर्षका क्रममा घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरुको योगदानकोे स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु।’
उनले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रकृया भएको बताएका छन्। उक्त जिम्मेवारी लोकतन्त्रप्रतिको गहिरो विश्वास र त्यसअनुरुप व्यवहारबाट मात्र पूरा गर्न संभव हुने उल्लेख गरेका छन्। लोकतन्त्र सैद्धान्तिक अवधारण मात्र होइन यो हाम्रो सोचाई,पद्दति, जीवनव्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि हो उनले शुभकामना सन्देशमा भनेका छन्।
शुभकामना सनदेशमा भनिएको छ, ‛सात दशकदेखिको नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका संघर्षहरु र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संबद्र्धन गर्ने दायित्व वहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ। लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समिक्षा गर्नु पर्ने अवस्था सृजना भएको छ। लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीहरुको सामना गर्दै यसको उन्नत अभ्यासका लागि सबै राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशीलर जागरुक हुनुपर्ने अवस्था आएको छ।’
सभामुख सापकोटाले राष्ट्रिय प्रजातन्त्र दिवसको दिनमा सबैलाई लोकतन्त्र, संविधानको मर्म र भावना अनुसार अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी हुन्।
राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग भएका व्यक्तित्वप्रति तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेकी छन्।
“प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ”, सन्देशमा भनिएको छ। विक्रम संवत् २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीराङ्गना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ। प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
फागुन ७ नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिनः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वभौम नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत् निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ हामी नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले भनेका छन्, “ विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२र६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपब्धिलाई सार्वभौम संविधानसभाबाट जारी नयाँ संविधानले संस्थागत गरिसकेको छ।”
पटकपटकको राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारीपछि मुलुक विकास र समृद्धिको मार्गमा दु्रत्ततर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोस र अन्यौलता छाउनु सुखद पक्ष नभएको उनले सन्देशमा उल्लेख गरेका छन्। हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक भने अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको उपराष्ट्रपतिको भनाइ छ।
उपराष्ट्रपतिले २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र सङ्घर्ष गर्नुपरेको कुरा विशेष स्मणीय रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसले संविधानको पालन र संरक्षणका लागि सबैलाई प्रेरणा दिने र मुलुक सही दिशाबाट अगाडि बढ्ने विश्वास लिएको उपराष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्।