सिन्धुपाल्चोक बाह्रबिसेमा फेरि पहिराे : १८ घर पुरिए, धनजनको क्षति, सभामुख गाडीमा जाँदै

मूलखबर संवाददाता
काठमाडौं

पटकपटक बाढी पहिरोबाट अाक्रान्त सिन्धुपाल्चोकमा फेरि पहिरोले धनजनको क्षति पुर्याएकाे दुखद खबर छ ।

गएराति सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ घुम्थाङमा पहिरो जाँदा १८ घर पुरिएको बताइएको छ ।

घुम्थाङका भीरखर्कमा १० घर र नागबुजेमा ८ घर पहिरोले पुरिएको स्थानीय शिक्षक बजीर भण्डारी फेसबुकमा  उल्लेख गरेका छन् ।

बजिरसिंह भण्डारीको फेसबुकबाट लिइएको तस्वीर

राति अध्यारोमा पहिरो गएको र घरहरु पुरिएका कारण के कति क्षति भएको एकिन हुन सकेको छैन । भण्डारीका अनुसार नागबुजेका ८ घरमा परिएका मानिसहरु अहिलेसम्म वेपत्ता छन् भने नजिक पुगेर उद्दार गर्न सक्ने अवस्था समेत नरहेको उनले बताएका छन ।

बाह्रविसेस्थित सुरक्षा निकायका नेपाली सेना, प्रहरी र सशस्त्र पहिरो घटना स्थलतर्फ गएका छन्र ।

सभामुख अग्नि सापकोटाको निर्बाचनक्षेत्र समेत रहेको उक्त क्षेत्रमा माैसम खराबीका कारण सापकोटा सडक मार्ग हुँदै घटनास्थलतर्फ जाँँदैछन् ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।

घटनास्थलमा स्थानीय युवाहरू उद्वारमा जुटेका छन् ।

तस्वीर : बजिरसिंह भण्डारीको फेसबुकबाट लिइएको