नेकपा सचिवालय बैठकमा ओलीको राजीनामा माग, ओलीको उत्तरले विवाद झनै बढ्ने सम्भावना

मूलखबर संवाददाता
काठमाडौं, १८ बैसाख ।

सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।
लामो रस्साकस्सीपछि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलिप्रति गम्भीर आपत्ति जनाउँदै बहुमत सचिवालय सदस्यले राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।

पार्टीसँग छलफल नै नगरी सरकार एकलौटी रुपमा सञ्चालन गरेको, भ्रष्टाचारलाई संरक्षण गरेको र सांसद अपहरणमा समेत संलग्नता देखिएको भन्दै देशैभरबाट आलोचना भइरहेका बेला विवदास्पद अध्यादेश फिर्ताको निर्णय गरेपनि ओलीको राजीनामा हुनुपर्ने धारणा सचिवालय बैठकमा अध्यष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रबक्ता नारायणकाजी श्रेष्ठले राखेका हुन् ।

आफ्नो राजीनामाको माग आएपछि प्रधानमन्त्री ओलीले आफूले कोरोना सकिएपछि राजीनामा दिने र बामदेव गौतमलाई प्रधानमन्त्री र माधव कुमार नेपाललाई तेश्रो अध्यक्ष बनाउने उत्तर दिएका थिए ।
ओलीको उत्तरपश्चात उपाध्यक्ष गौतमले पहिले राजीनामा गर्नुस् अनि विचार गरौंला भनेका थिए भने नेता नेपालले तत्काल दुबै पदबाट राजीनामा दिनुपर्ने दोहोर्याएका थिए ।

ओलीले पटक पटक बामदेव गौतमलाई धोखा दिँदै आएका छन् । गौतमले आफूलाई बर्दियाको निर्वाचनमा पार्टीले नै अन्तरघात गरेर हराएको भन्दै क्षतीपूतीृको माग गरिरहेका छन् । प्रचण्डले बामदेवलाई सांसद बनाउन पटक पटक प्रयत्न गर्दा ओल्लिे नै अवरोध खडा गरेका थिए । यस अघि सचिवालयले बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने गरेको निर्णय ओलीले अस्विकार गरिरहेका छन् । अहिले उनै ओलीले आफूलाई प्रधानमन्त्री दिने प्रस्ताव गरेपछि बामदेव गौतम चकित परेका छन् ।
ओलीले गौतमलार्य संविधान संशोधन गरेरै भएपनि वा निर्वाचनमा उम्मेदवार बनाएरै भएपनि भावी प्रधानमन्त्री बनाउने कुरा सचिवालय बैठकमा गरेका थिए ।

गौतमले यसअघि संविधान संशोधनमार्फत राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग गरेका थिए । त्यसबेला केही व्यक्तिका लागि संविधान संशोधन गर्ने कुरा जायज नहुने अडान ओलीले राखेका थिए ।

तर बुधबार प्रधानमन्त्री ओलीले नै गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि प्रधानमन्त्रीको प्रस्तावलाई उपाध्यक्ष गौतमले चलाखीपूर्वक जवाफ दिएका थिए । ‘प्रधानमन्त्रीले यो कुरा असल मनसायले ल्याउनुभएको हो भने ठीक छ तर पहिले तपाईं राजीनामा गर्नुहोस्, अनि को, कसरी प्रधानमन्त्री बन्छ भन्ने पार्टी कमिटीले निर्णय गर्छ,’ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई पनि अध्यक्ष बनाउने गरी तीन जना अध्यक्षको अवधारणा पनि सार्वजनीक गरेका छन् । जबकि प्रचण्ड र नेपाल पक्षले एक व्यक्ति एक पद हुनुपर्ने माग पटक पटक गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवै चलाउन नसकेको निष्कर्ष लिएर पुगेका प्रचण्ड र नेपाललाई प्रधानमन्त्री ओलीले थप अर्को अध्यक्षसमेत रहने खालको प्रस्ताव गरेपछि बुधबारको बैठक कुनै निष्कर्षमा पुगेन । वरिष्ठ नेता नेपालले आफूलाई तेस्रो अध्यक्ष होइन, ओलीलाई उल्टै प्रधानमन्त्री र अध्यक्ष दुवै छोड्न आग्रह गरे ।

ओलीको प्रस्तावको बचाउमा ओली पक्षधर नेताहरु नै अगाडि आउन नसकेपछि ओली थप एक्लीएका थिए । बैठकको शुरुमा प्रधानमन्त्री ओली निरास भावसहित प्रस्तुत भएका थिए । उनले आफ्नो केही कुरा नभएको भन्दै अरुलाई बोल्न आग्रह गरेका थिए ।

अर्को बैठक बैसाख २० गते

बैठकको समापनपछि सञ्चारकर्मीसँग प्रबक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा पार्टीको आन्तरिक जीवन, विधि, प्रक्रिया, राष्ट्रिय राजनीति, विवाद, सरकारका गतिविधि लगायतका विषयमा नेताहरुले आ आफ्ना धारणा राखेको जानकारी गराउँदै अर्को बैठक बैसाख २० गते बस्ने बताएका थिए ।

प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” काे संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्याे ।
बैठकमा पार्टीकाे आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिकाे बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयाे । सबै सदस्यहरूले अाअाफ्ना धारणाहरू राख्नुभयाे ।
बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयकाे बैठक बस्ने निर्णय गरेकाे छ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
१७ बैशाख २०७७