ओरालो यात्रा नरोकिएपछि २ दुई घण्टामै शेयर कारोबार बन्द
लगातार ओरालो लाग्न थालेपछि मंगलबार ५ दिनपछि मंगलबार खुलेको शेयर बजार २ घण्टामै बन्द भएको छ । नेप्से दुई घण्टामै ८६.३९ अंकले घटेपछि आजको लागि कारोबार नै बन्द गरिएको हो ।
बजार खुलेदेखि नै निरन्तर रुपमा घट्दै गएको बजार दुई घण्टा १३ मिनेट जाँदा ६ प्रतिशत भन्दा बढीले घटेको थियो । नियमानुसार एकैदिन ६ प्रतिशत भन्दा बढीको घटबढ देखिएमा सो दिनको लागि सम्पूर्ण कारोबार बन्द गर्नुपर्छ । सो कारण आजको लागि सबै कारोबार बन्द गरिएको हो । उक्त अवधिमा १ अर्ब ७ करोड रुपैंया बराबरका २७ लाख ३५ हजार कित्ता शेयर कारोबार भएका थिए ।
मंगलबार १२ वटै समूहका उपसूचकहरु घटेका छन् । २ घण्टाको कारोबार अवधिमा १६१ ओटा स्क्रिपको कारोबार भएकोमा १४६ ओटाको मूल्य घटेको छ । ७ ओटाको बजारमूल्य स्थिर हुँदा बाँकी ९ ओटा कम्पनीको शेयरमूल्य आज बढेको छ । १२ वटा उपसूचकमध्ये सबैभन्दा बढी गिरावट जीवनबीमा समूहमा आएको छ । उक्त समूहको सूचक ९.१ प्रतिशतले घट्दा व्यापारमूलक, होटेल र बैंकिङ समूहको सूचकमा पनि ६ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । निर्जीवन बीमा समूह ५ प्रतिशतको हाराहारीमा घट्दा अन्य सूचक भने त्योभन्दा कमले मात्रै घटेको छ ।
मंगलबारको बजारमा १२ ओटा कम्पनीले ९ प्रतिशत भन्दा बढीको मूल्य गुमाएका छन् । सबैभन्दा बढी मूल्य घट्नेमा लाइफ इन्स्योरेस कम्पनी, नेको इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेपाल एसबीआई बैंक, नेशनल लाइफ, मञ्जुश्री फाइनान्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, छिमेक लघुवित्त, शिवम् सिमेन्ट, नाडेप लघुवित्त, युनाइटेड इन्स्योरेन्स लगायत छन् । गत मार्च २ मा पनि नेप्से परिसूचक एकैदिन करिब ९६ अंक घटेर नकारात्मक सर्किट ब्रेक लागेको थियो ।
के हो सर्किट ब्रेकर ? कस्तो छ व्यवस्था ?
नेपाल स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ ।
यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन् । बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेञ्जले यस्तो व्यवस्था गरेको हो ।
प्रत्येक दिन शेयरको प्रथम कारोबार हुँदा उक्त सेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ ।
ऋणपत्र भएमा प्रत्येक दिन प्रथम कारोबारमा शून्य दशमलव २ प्रतिशत र त्यसपछिका कारोबारहरुमा शून्य दशमलव १ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ ।
यसैगरी कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ ।