देउता रिसाउने डरले महिनावारीमा स्कुल जाँदैनन् युवति

मूलखबर संवाददाता
काठमाडौं

जिल्लाको तातोपानी गाउँपालिका ६ की १५ वर्षीय आया विक छुई ‐महिनावारी) हुन थालेको दुई वर्ष भयो । १३ वर्षको उमेरमा उनको पहिलो महिनावारी सुरु भएको हो । त्यतिबेला उनी दुर्गा माध्यमिक विद्यालय कक्षा ६ मा पढ्थिन् । अहिले विक चन्दननाथ नगरपालिकामा रहेको जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् ।

महिनावारी भएका बेला उनी प्राय विद्यालय जाँदिनन् । गत असोजमा महिनावारी भएका बेला स्कुल जाँदा उनी एक्कासि बिरामी भइन् । त्यसपछि छुई ‐महिनावारी) भएको समयमा विद्यालय नै जान डराउँछिन् । विक भन्छिन्, ‘म बिरामी भएपछि घरमा देउता हेराउँदा छुईछाई भएको भने, त्यसपछि मलाई पनि बिरामी पो परिने हो कि भनेर डर लाग्छ ।’

देवता रिसाउने र बिरामीसमेत पारिदिने त्रास उनी मात्रै होइन दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत साजना रावतको पनि छ । ‘पढ्ने दिमाग नै आउदैन रे, देउता रिसाउनान् अरे,’ उनी भन्छिन्, ‘मेरा साथी पनि विद्यालयमा आउन्न म पनि कहिले काहीँ आउँछु ।’ जिल्लाका सबैजसो विद्यालयमा किशोरी मात्रै होइनन् शिक्षिकाको समेत समस्या उस्तै छ । शिक्षिकाहरूसमेत छुई भएका बेला विद्यालयमा जाँदैनन् ।

पढाउने शिक्षिका नै महिनावारी हुँदा विद्यालय नआउने आए पनि गेट काटेर कक्षामा नछिर्ने यस्तो समस्या विगत दशकौंदेखि देख्दा यहाँका किशोरीको मानसिकता नै बदलिएको छ । कतै लड्दा, पेट, टाउको दुख्दा, ज्वरो आउँदा पनि डाक्टरकहाँ भन्दा पहिले धामीलाई देखाउने बानी बसेको छ, यहाँका स्थानीयमा । जसले गर्दा छाउपढी प्रथाले विकराल रूप लिँदै पठनपाठनमा समेत प्रभाव पारेको स्थानीय बताउँछन् । जनजागृति विद्यालयमा करिब ३ सय जना विद्यार्थी छन् जसमा छात्राको संख्या १०६ छ । शिक्षक सन्तवीर रावतका अनुसार जम्मा छात्रामध्ये ८० प्रतिशत महिनावारी हुन्छन् । प्रत्येक दिन कोही न कोही आउने र आए पनि कक्षामा नपढ्ने भएकाले पठनपाठन वर्षौंदेखि प्रभावित हुँदै आएको रावतले बताए । किशोरीहरूको मानसिकतामै परिवर्तन भएकाले जति सम्झाए पनि सम्भव नभएको शिक्षक बताउँछन् ।

यस्तै, मनोसामाजिक विमर्शदार्ता नन्दराज आचार्य शिक्षिका र किशोरीमा सानैदेखि नै देउता रिसाउने मानसिकता रहेको बताउँछन् । उनी भन्छन्, ‘मकहाँ यस्ता समस्या भएका किशोरी बढी आउने गरेका छन्, शिक्षित मानिएकामा समेत यस्तो समस्या देखिन्छ ।’