सिमा अतिक्रमणको समस्या त्रिदेशीय साझेदारीमा हल गर्नुपर्छ- प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली सिमामा देखिएको अतिक्रमणको समस्या त्रिदेशीय साझेदारीमा हल गर्नुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ ।

नेपाल–चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको बताउनुभएको हो । प्रचण्डले भन्नुभयो – ‘त्रिपक्षीय सम्बन्धको साझेदारीले मात्र आर्थिक, पुर्वाधार विकासमा टेवा पुग्छ । यो युग कनेक्टिभिटीको यूग हो, यसको बैभन्दा प्रभावकारी माध्यम सञ्चार हो ।’

अध्यक्ष प्रचण्डले रोड, हवाई मार्गबाट हुने कनेक्टिभिटीभन्दा सञ्चार माध्यमबाट हुने कनेक्टिङ बढी महत्वपूर्ण हुने बताउनुभयो । जनमत निर्माण गर्न सञ्चारको भुमिका रहने बताउँदै प्रचण्डले अन्तरदेशीय जनमत सिर्जना गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न समेत सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

नेपाल, भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको धारणा पनि प्रचण्डको छ । नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्नेमा प्रचण्डले जोड दिनुभएको छ।

कार्यक्रममा प्रचण्डले कालापानी सीमा समस्या समाधान गर्न संयमताका साथ अघि बढ्नुपर्ने बताए । लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले मात्र संरचना बनाउने गरेको विषयमा आफूले यसअघि पनि गम्भीर ध्यानाकर्षण गराएको बताउनुभयो ।

हाल देखिएको सीमा समस्याको समाधान तीन देशबीच सहमतिका साथ समाधान गर्नुपर्ने प्रचण्डले बताए । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले नेपाल चीनबीचको सम्बन्धको आयाम झनै फराकिलो भएको प्रचण्डले बताउनुभयो ।

सिको नेपाल भ्रमणपछि धेरै क्षेत्रमा सम्भावनाको ढोका खुलेको र नेपाललाई भरोसा थपिदिएको प्रचण्डको भनाई छ । हामी प्रो इण्डिया, प्रो चाइना, प्रो अमेरिकन होइनौं, हामी प्रो नेपाल हौ । हामीले हाम्रो देशको हितमा काम गरौं । प्रचण्डले थप्नुभयो, ‘सबैको साथ र सहयोग लिएर अघि बढौं’ ।

अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री भएकै बेला त्रिदेशीय साझेदारीको प्रस्ताव गरेको बताए । प्रचण्डले दुई प्लस एक भन्दा नेपाललाई असहज हुने बताउनुभयो । प्रचण्डले लिपुलेकबारे भारत र चीनले गरेको समझदारीप्रति आफूले त्यतिबेलै औपचारिक असहमती जनाएको समेत जानकारी दिनुभयो ।