तमोर र माडि जलाशययुक्त आयोजना निर्माणमा जुट्यो २ खर्ब चिनियाँ लगानी
नेपाल र चीनबीच नेपालको उर्जा क्षेत्रमा ठूलो लगानीको समझदारी भएको छ । नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको हो ।
प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेश गरिएको प्रस्तावमा एचआइडीसीएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरेका थिए । मन्त्री पुनका अनुसार आगामी एक वर्षभित्र आयोजनाको निर्माणसम्बन्धी सबै तयारी गर्ने छ । उनका अनुसार माडी जलाशययुक्त आयोजना प्रदेश नं ५ को रोल्पामा अवस्थित छ ।
नेपाल र चिनियाँ सरकारी कम्पनीबीचको सहकार्यमा आयोजना निर्माणको समझदारी भएको यो पहिलोपटक हो । नेपाल र चीनको निजी कम्पनीको सहकार्यमा सिनो सगरमाथा हाइड्रोपावरले लमजुङमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । तर सरकारीस्तरमा नै आयोजना निर्माणका लागि सरकारी कम्पनीस्तरको प्रयास भने यो पहिलोपटक हो ।
यसअघि नै बोर्डमा गरिएको प्रस्तावमा पनि दुई वटा ढाँचा प्रस्तुत गरिएको थियो । त्यसमा नेपाली साझेदार र सर्वसाधारणको ४६ प्रतिशत तथा पावर चाइनाको ५४ प्रतिशत लगानी हुने गरी प्रस्ताव गरिएको थियो ।
यस्तै दोस्रो प्रस्तावमा एचआइडीसीएल, नेपाली लगानीकर्ता र सर्वसाधारणको गरी कूल ७१ प्रतिशत लगानी रहने प्रस्ताव गरिएको थियो । त्यसमा पावर चाइनाको मात्रै २९ प्रतिशत लगानी हुने प्रस्ताव गरिएको थियो । सोही प्रस्तावअनुसार नै आयोजना अगाडि बढाइनेछ तर लगानीको मात्रा के कति हुने भन्नेबारेमा भने केही बताइएको छैन ।
सरकारले प्रस्ताव गरेअनुसार प्रदेश नं १ को ऊर्जा सुरक्षाका लागिसमेत महत्वपूर्ण मानिएको सो आयोजनालाई सरकारी कम्पनीस्तरमा नै अगाडि बढाउने गरी प्रस्ताव गरिएको एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत पोखरेलको भनाइ छ ।
समझदारीपत्रमा उपस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार माडी जलाशययुक्त आयोजनामा एचआइडीसीएलको २६ प्रतिशत र पावर चाइनाको ७४ प्रतिशत लगानी रहनेछ । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्नेछ । सोहीअनुसार नै समझदारी गरिएको पोखरेलको एचआइडिसिएलका कार्यकारी निर्देशक भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको एचआइडीसीएलले निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ ।