सम्पत्ति शुद्धीकरणमा भट्टराई : अबैध सम्पत्तिविरूद्व कडा कार्वाही थाल्दै
काठमाडौं , १६ बैसाख-
आइतबारदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकका रूपमा वरिष्ठ सहसचिव रूपनारायण भट्टराईले कार्यभार सम्हालेका छन् । विभागको जिम्मेवारी सम्हालेसँगै भट्टराईले अवैध धन आर्जन गर्नेविरुद्ध कारबाही थालिने प्रतिबद्धता जनाएका छन् ।
उनको प्रतिबद्धतासँगै कालोधन आर्जन गरेर शुद्धीकरणको प्रयास थाल्नेहरुमा त्रास सिर्जना हुन थालेको छ । भट्टराईले विभिन्न निकायसँग समन्वय गरी विभागलाई चलायमान बनाउने र अवैध सम्पत्ति आर्जन गरी शुद्धीकरणको प्रयास गर्नेहरुविरुद्धको छानबिन कडाइसाथ अघि बढाउने बताए ।
हक्की स्वभाव र केही गराैैं भन्ने सोचका प्रशासक मानिने भट्टराई यसअघि समेत विभिन्न निकायमा रहेर सुधारका प्रयास थाल्दा चर्चामा रहे । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व उनले पाउनुलाई धेरैले ‘ठीक ठाउँमा ठीक व्यक्तिले जिम्मेवारी पाएको’ बताएका छन् । उनको आगमनसँगै मुलुकमा भित्रिने अवैध धन नियन्त्रण हुने धेरैको अपेक्षा छ ।
उनले वातावरण विभागमा रहँदा सुरुवात गरेका प्लास्टिकमुक्त अभियान निकै चर्चामा रह्यो । त्यसपछि यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा उनले सिन्डिकेटधारीलाई कारबाही गर्ने अभियान थाले । सो अभियानले उनलाई चर्चित बनायो । यातायात व्यवस्था विभागमा रहँदा उनले राजस्व छली गर्ने सय बढी कर्मचारीलाई कारबाहीको दायरामा ल्याई २ अर्ब राजस्व असुल गराएका थिए ।
उनले २०७२ सालमा सामान्य प्रशासन मन्त्रालय, भन्सार विभाग काठमाडौं शान्ति कोष सचिवालयमा रहेर कार्यसम्पादन गरे । त्यसपछि २०७३ चैतमा यातायात व्यवस्था विभागको महानिर्देशक बनेका भट्टराईले ११ महिनाको कार्यकालमा यातायात क्षेत्रमा व्याप्त विसंगति निर्मूल पार्ने प्रयास गरे ।
सिन्डिकेटको जालो तोड्ने अभियानका क्रममा उनी निकै दबाब झेल्नुपरेको स्मरण गर्छन् । तर, उनी टसमस भएनन् र जिम्मेवारीबाट विचलित नभई अगाडि बढे । सिन्डिकेटको जालो तोड्न लागेका भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाशेठको दबाबमा विभागको जिम्मेवारीबाट मुक्त गराइयो र कुनै जिम्मेवारी नदिई राखियो । उनले यसलाई सबैभन्दा दुःखद घटनाका रूपमा लिएको बताउँदै आएका खबर राजधानीमा छ ।