प्राधिकरणकाे स्पष्टिकरण : भारतबाट विगतमा भन्दा कम मूल्यबृद्धिमा बिजुली खरिदको सम्झौता

मूलखबर संवाददाता
काठमाडौं, १४ फागुन

भारतबाट विगतमा भन्दा कम मूल्यबृद्धिमा बिजुली खरिदको सम्झौता भएको नेपाल बिद्युत् प्राधिकरणले प्रष्ट पारेको छ । महंगोदरमा खरिद सम्झौता गरेको भन्दै उर्जामन्त्री दिपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधपछि प्राधिकरणले बिज्ञप्तिमार्फत यस विषयमा जानकारी दिएको हो । साथै मन्त्रीकै मौखिक सहमतिमा सम्झौता भएको समेत प्राधिकरणले जनाएको छ।

३० माघमा नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत पावर एक्सचेन्ज कमिटी (पिइसी) को बैठकले युपी, बिहार र उत्तराखण्डबाट खरिद गर्ने सम्झौता गरेको थियो ।  बिजुली दर विगतको तुलनामा सस्तो हुने गरी सम्झौता भएको प्राधिकरणले विज्ञप्तीमार्फत जानकारी दिएको हो ।

आगामी अप्रिलबाट मार्चसम्मका लागि १३२ केमी, ३३ केभी र ११ केभी प्रसारण लाइनबाट आदान–प्रदान गर्ने बिजुलीको दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारु तय गरिएको प्राधिकरणले जनाएको छ । विगतमा औसत ५.५ प्रतिशत मूल्यबृद्धि हुने गरेकोमा यसपटक  १.५ प्रतिशत मात्र मूल्यबृद्धि हुने गरी नयाँ दर निर्धारण गरिएको प्राधिकरणको भनाई छ । आवश्यकता अनुसार सुखायाम साँझ ४ बजेदेखि राति ९ बजेसम्म र भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धा गर्दा विद्युत आयात स्वीकृति नभएको अवस्थामा मात्रै यो उक्त प्रसारण लाइनबाट बिजुली आयात गर्ने प्रावधान छ ।

पावर एक्सचेन्ज कमिटीले निर्धारण गरेको मूल्य भारतीय इनर्जी एक्सचेन्जमा पिक समयमा पर्ने करिब प्रति युनिट १० भारुको तुलनामा सस्तो भएको प्राधिकरणले जनाएको छ । ‘आवश्यकता अनुसार विद्युत आयात गर्नुपर्दा मात्र उक्त दर तिर्नु पर्नेछ । विद्युत आयात नगरेका कारण तय गरिएको दर या अन्य कुनै जरिवाना तिर्नु पर्ने र लिनैपर्ने बाध्यकारी व्यवस्था गरिएको छैन’ प्राधिकरणले भनेको छ ।