नेपालको पानी विदेशमा बेच्न खानेपानी मन्त्रालयको पहल शुरु

काठमाडौं, ६ बैसाख ।
नेपालको पानी विदेशमा बेच्न खानेपानी मन्त्रालयले गृहकार्य शुरु गरेको छ । हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले शुक्रबार बृहत अन्तरक्रिया गरेको हो । खानेपानी मन्त्री विना मगरको सक्रियता र निर्देशनमा मन्त्रालयले गृहकार्य शुरु गरेको हो ।

नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेसियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सन् २०३० सम्ममा सबै नेपालीलाई शत प्रतिशत प्रशोधनसहितको खानेपानीको पहुँच पुर्‍याउने र खेर गैरहेको पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्ने योजना बनिरहेको बताउनुभयो ।

मन्त्री मगरले विश्व बजारमा नेपालको ग्लेसियर र स्प्रिङ वाटरलाई निर्यात गर्ने सम्भावनाको खोजी भैरहेको जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो पहिलो प्राथमिकता सबै नेपाली नागरिकलाई आधारभूत खानेपानीको पहुँच पुर्‍याउने हो र सँगसँगै हिमालबाट बगेर खेर गैरहेको पानीलाई समेत प्रशोधन गरी विदेश निर्यात गर्ने हो । हामी सबै किसिमका सम्भावनाहरुको खोजी गरिरहेका छौँ । हाम्रो देशको पानी विश्व बजारमा अरु देशको भन्दा राम्रो र स्वच्छ छ । हामी विश्व बजारमा पुरै प्रतिस्पर्धा गर्न सक्छौं ।’

नेपालको पानी विदेश निर्यात गर्ने विषयमा मापदण्ड बनाएर अघि बढ्ने तयारीमा लागेको मन्त्री मगरको भनाइ छ । गुणस्तरमा कुनै सम्झौता नगरी अन्तर्राष्ट्रिय बजारमा पानी बिक्री गर्ने विषयमा सम्भाव्यता अध्ययन भईरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन नेपालले पानी निर्यात गरी सम्पन्न बन्न सक्ने धारणा राख्नुभयो । सचिव शर्माले पानी निर्यात गरी नेपाल धनी हुन सक्ने कुरामा कुनै सन्देह नरहेको बताउनुभयो । ‘पानी निर्यातका लागि अन्तर्राष्ट्रिय बजार कहाँ कहाँ हुन सक्छ, हामी खोजी गर्छौं । हामीले उत्पादन गर्ने पानीको गुणस्तर पुरै सुधार्ने छौं’, सचिव शर्माले भन्नुभयो ।

मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको ग्लेसियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा प्रस्तुति दिनुभएको थियो । भट्टले नेपालको पानी खाडी देशहरुमा बढी माग भएको बताउँदै व्यापार घाटा कम गर्न पानी निर्यात उपयुक्त हुने दृष्टिकोण राख्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विदेश निर्यात गरिने पानीको स्रोतको सम्भावनाको खोजी भैरहेको जानकारी दिनुभयो । अबको दुई हप्ताभित्र सम्भाव्यता अध्ययनका लागि सूचना जारी गर्न लागिएको महानिर्देशक दासको भनाइ छ ।

पूर्व सचिव सुमनप्रसाद शर्माले पानी निर्यात गर्ने अवधारणा राम्रो रहेको बताउँदै यसका लागि संयन्त्र र विधि पहिले नै तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले नेपालको पानीमा लगानी गर्न विदेशी कम्पनीहरुलाई आव्हान गर्नुपूर्व सरकारले मुहान र जग्गा जमिन उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले ग्लेशियर र स्प्रिङ वाटरको प्रचुर सम्भावना रहेको बताउँदै नेपालले पानी निर्यात गरी फाइदा लिन सक्नुपर्ने बताउनुभयो ।

अर्का वक्ता विष्णु दाहालले पानी बिक्री गरेर मात्रै नेपालको समृद्धि हासिल हुने ठोकुवा गर्नुभयो । उहाँले हामीसँग भएको स्रोतको उचित प्रयोग गरी पानी निर्यात गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
खानेपानी मन्त्रीमा नियुत्तः भएदेखिनै मन्त्री मगरले नेपालको पानी विश्व बजारमा विक्रियोग्य भएको भन्दै उक्त अभियानमा अगाडि वढ्नको लागि मातहतका निकायलार्य निर्देशन दिनुभएको थियो ।

मन्त्री मगरको योजनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सह्रानिय र अत्यावश्यक योजनामा पार्न र साथ दिन तयार रहेको बताएपछि मन्त्रालयले आजको अन्तरक्रिया आयोजना गरेको बताइएको छ ।