
भाेलीदेखि एसईई, ४ लाख ७५ हजारले परीक्षा दिँदै
काठमाडौँ,९ चैत ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारबाट सुरु हुँदैछ । परीक्षा चैत २१ गतेसम्म चल्नेछ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् ।
नियमिततर्फ कुल चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यस्तै, ग्रेडवृद्धितर्फ नौ हजार ५९१, प्राविधिकतर्फ नौ हजार ३४३ र पुरानो ग्रेडवृद्धितर्फ पाँच हजार ८८३ परीक्षार्थी सम्मिलित हुने परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले जनाएको छ ।
पनिकाले सामुदायिक विद्यालयबाट एक लाख ५८ हजार ३८९ छात्र र एक लाख ८१ हजार ८०७ छात्रा तथा निजी विद्यालयबाट ७८ हजार ५६ छात्र र ५६ हजार ७५१ छात्रा सहभागी हुने जानकारी दिएको छ ।
यसबाट छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा अध्यापन गराउने प्रवृत्ति कायम रहेको शिक्षाविद्हरूको ठम्याइ छ । एसईई परीक्षा दिनेहरूमा प्रदेश २ मा छात्रको बढी सङ्ख्या छ भने अन्यमा छात्रा नै बढी रहेको पाइएको छ ।
परीक्षामा देशभरि एक हजार ९६९ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । शुक्रबार आयोजना गरिएको एक अन्तरक्रियामा परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले सातवटै प्रदेशमा अनिवार्य छ विषयका प्रश्नपत्र फरक फरक गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी परीक्षा केन्द्र प्रदेश–३ मा ४१९ वटा कायम गरिएको छ । सबैभन्दा बढी परीक्षार्थी प्रदेश ३ मा एक लाख छ हजार दुई रहेका छन् ।
परीक्षामा एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहायक केन्द्राध्यक्ष, २३ हजार ७५० निरीक्षक, चार हजार ७५० परीक्षा सहायक, नौ हजार पाँचसय कार्यालय सहयोगी, २९ हजार ५३५ सुरक्षाकर्मी गरी कुल ७२ हजार ६७१ जनशक्ति परिचालन हुने भएका छन् ।
