राष्ट्रसंघले गर्याे नेपालकाे उच्च मूल्यांकन
काठमाडौं , २६ फागुन –
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालले विश्वशान्ति र शरणार्थीलाई देखाएको मानवीय व्यवहारको उच्च मूल्यांकन गरेका छन्। महासचिव गुटेरसले लामो द्वन्द्वलाई शान्तिमा परिणत गरी लोकतन्त्रको जग बलियो बनाएर अघि बढिरहेको नेपालको समृद्धिको समेत कामना गरेका छन्।
उनले भने, ‘नेपालले आफ्नै प्रयासमा गरेको शान्ति पहल, मानवअधिकार, लोकतन्त्रको बलियो जगको थालनी विश्वमै प्रशंसा गर्नलायक छ।’ राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा महासचिव गुटेरसले यस्तो धारणा व्यक्त गरेका हुन्। न्युयोर्क पुगेको तेस्रो दिनमै राईलाई ओहोदाको प्रमाणपत्र बुझाउने अवसर जुरेको थियो।
महासचिव गुटेरसले आफूले विगतमा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालले शान्ति र मानवीय व्यवहारमा देखाएको भूमिका प्रशंसनीय र विश्वकै लागि उदाहरणीय रहेको बताए। राईका अनुसार गुटेरसले सन् १९७० को दशकमा नेपाल भ्रमण गरेका थिए। स्थायी प्रतिनिधि राईले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘तिब्बती र भुटानी शरणार्थीलाई नेपालले जुन प्रकारको मानवीय व्यवहार देखायो त्यो प्रशंसनीय र उदाहरणीय छ।’
तिब्बती शरणार्थीको समस्या समाधान गर्नु चानचुने काम नभएको उनको भनाइ थियो। उनले भने, ‘भुटानी शरणार्थीलाई नेपालमा लामो समयसम्म दिएको शरण र पछिल्लो समय तेस्रो मुलुक पुनस्र्थापना प्रक्रिया झन् उदाहरणीय काम हो।’ शरणार्थी मामिलासम्बन्धी राष्ट्रसंघीय उच्चायोग प्रमुखसमेत रहिसकेका गुटेरसले राईलाई नेपालसँग गरेका कामको अनुभवसमेत सुनाएका थिए।
राष्ट्रसंघको उद्देश्य र लक्ष्य प्राप्तिका लागि नेपालबाट प्राप्त ऐक्यबद्धता एवं समर्थनको पनि उनले प्रशंसा गरेका थिए। महासचिव गुटेरसले नेपालको लोकतन्त्रको संस्थागत विकासमा भएको कामबारे पनि संक्षिप्त जानकारी लिएका थिए। राईले नेपालको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रसंघको उच्च तहमा नेपाली सुरक्षा निकायको उपस्थितिलगायतका विषयमा जानकारी गराएका थिए। ‘छोटो समय भए पनि नेपाल र राष्ट्रसंघको सहकार्य एवं ऐक्यबद्धताबारे छलफल भयो,’ राईले भने, ‘नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका क्रममा हुने दुईपक्षीय छलफलमा विस्तृत कुराकानी हुनेछ। अहिले पुराना कुरा स्मरण गर्ने र नेपालको लोकतन्त्रका विषयमा सामान्य छलफल भयो।’
महासचिव गुटेरसले पर्यटनमन्त्रीसहित उद्यमी, कर्मचारी, सुरक्षा अधिकारी र चालकको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको सुन्दा आफू दुःखी भएको भन्दै समवेदना व्यक्त गरेका थिए। स्थायी प्रतिनिधि राईले महासचिव गुटरेससमक्ष राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका तर्फबाट सहकार्यको प्रतिबद्धता र अभिवादन प्रस्तुत गरेका थिए।
राईले नेपालको विकास र शान्ति प्रक्रियामा राष्ट्रसंघबाट निरन्तर सहायता प्राप्त भएको तथा आगामी दिनमा पनि निरन्तरता पाउनेमा विश्वास व्यक्त गरेका थिए। उनले महासचिवसमक्ष अन्तर्राष्ट्रिय चासोका महत्त् वपूर्ण विषयका साथै विश्वशान्ति, निःशस्त्रीकरण, दिगो विकास र जलवायु परिवर्तनलगायतमा नेपालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । याे खबर अन्नपूर्णमा चन्द्रशेखरले लेखेका छन् ।