अाज नारी दिवस, कसले के दिए शुभकामना ?
काठमाडौं , २४ फागुन – अाज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । अाजकै दिन शुरू भएको नारी दिवसकाे उपलक्षमा नेपाल सहित विश्वभर नारी दिवस विविध कार्यक्रमका साथ मनाईन्छ ।
अमेरीकाको न्युयोर्क सहरका गार्मेन्ट र कपडा उद्योगका मजदुर महिलाले दैनिक १८ घन्टा गराइने कामलाई १० घन्टासम्म झार्नुपर्ने र उद्योगभित्र हुने अमानवीय क्रियाकलापलाई सुधार्नुपर्ने माग राखेर सन् १९०८ देखि ०९ सम्म सशक्त आन्दोलन गरे । जसको उत्कर्ष थियो, ८ मार्च । त्यही वीरताको सम्मानमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गरिएको थियो ।
नारी दिवसकाे अवसरमा नेपालमा सार्वजनिक विदाकाे व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी अाेली, पुर्व प्रधतथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले नारी दिवसकाे शुभकामना दिँदै महिलाहरू थप शशक्त बन्दै गएकोमा खुशी व्यक्त गरेका छन् । प्रचण्डले महिलाहरूले जनयुद्ध लगायत सबै परिवर्तनको अान्दोलनमा महत्त्वपूर्ण भुमिखेलेकाे भन्दै प्रशंसा पनि गरेका छन् ।
राष्ट्रपति भण्डारी १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक भएकी छिन् । ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आज आयोजित सो कार्यक्रम‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइँदै छ ।
सन् १९०१ सम्म संसारका कुनै पनि महिलासँग मत दिने अधिकार थिएन । तर, २१औँ शताब्दीको झुल्के घामसँगै यो शताब्दी महिला अधिकारको शताब्दी बन्यो । सन् १९०७ मा जर्मनको स्टुटगार्डमा समाजवादी महिलाको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यही सम्मेलनबाट मत दिन पाउने अधिकार र समान ज्यालाको अधिकारको प्रस्ताव पारित गरियो । जर्मन कम्युनिस्ट आन्दोलनकी सशक्त महिला नेत्री क्लारा जेटकिनको अगुवाइमा समाजवादी महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन ८ मार्च १९१० मा डेनमार्कमा भयो । त्यहीँबाटै प्रत्येक वर्षको ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरिएको थियो ।
आन्दोलनले दैनिक १० घन्टे कार्यावधि लागू गराउन सफल भए पनि अमेरिकी महिलाले मताधिकारको अधिकार सन् १९२० मा मात्र पाएका थिए । सन् १९१३ मा रुसमा पहलोपटक महिलाले भूमिगत रूपमा श्रमिक महिला दिवस मनाउँदा तत्कालीन जार प्रशासनले हस्तक्षेप गरी बीचैमा कार्यक्रम बिथोलेको थियो । जार शासकले रुसी पुरुषलाई जबरन युद्धमा पठाउँदा बिग्रदो आर्थिक अवस्थाले भोकमरीजस्ता समस्या निम्त्यायो । जसका विरुद्ध रुसका महिलाले निर्णायक आन्दोलन गरे । सन् १९१७ मार्च ८ मा रुसको पेत्रोग्राडका सडकमा महिलाले ‘बालबालिकालाई रोटी दे ! हाम्रा लोग्नेलाई युद्धबाट फिर्ता गर् !’ लगायत नारा लगाएर संघर्ष गरे जुन जारशाहीलाई अपदस्त गर्ने निर्णायक आन्दोलन थियो ।