लाेकप्रिय नेकपा नेता अधिकारीकाे निधन, धुम्वाराहीमा श्रद्धाञ्जली, अाजै अन्त्येष्टि

काठमाडौँ, १९ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार राति निधन भएको छ ।  फोक्सो र मुटु रोगबाट पीडित अधिकारीको ह्याम्स अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे निधन भएको हो ।

गएको माघ २४ देखि ह्याम्स अस्पतालमा उपचारार्थ भर्ना हुनुभएका अधिकारीको विगत दुई सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

ह्याम्स अस्पतालका मेडिकल निर्देशक डा. भाष्करराज पन्तले विज्ञप्ति जारी गर्दै अधिकारीको निधनको पुष्टि गर्नुभएको हो । “यस अस्पतालमा २३ दिनदेखि उपचाररत ८२ वर्षीय भरतमोहन अधिकारीको उपचारका क्रममा शनिबार राति ९ः३५ बजे निधन भएको कुरा जानकारी गराउनु पर्दा हामी सम्पूर्ण ह्याम्स परिवारलाई अत्यन्तै दुःख लागेको छ’’, विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चिकित्सा विज्ञानअनुसार सम्भव सम्पूर्ण उपचार विधि अपनाउँदासमेत स्वास्थ्य अवस्था विगत तीन दिनदेखि खस्किँदो अवस्थामा रहेको र महवपूर्ण अङ्गहरूले काम गर्न छाड्दै गएको अवस्था थियो । ”
नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दिवङ्गत अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि धुम्बाराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा बिहान ९ देखि १२ बजेसम्म राखिने छ । 
उनका अनुसार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन्। त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । यसअघि ह्याम्स अस्पतालले अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाउँदै शनिबार दिउँसो पत्रकार सम्मेलन गरेको थियो । 

नेता अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार श्वासप्रश्वास, निमोनिया लगायतका स्वास्थ्य समस्या भएपछि दुई महिनाअघि अधिकारीलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । 
स्वास्थ्य अवस्था गम्भीर भएको खबर सार्वजनिक भएपछि शनिबार राति पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य वामदेव गौतमलगायत नेता तथा कार्यकर्ता अस्पताल पुगेकाा थिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित; श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्टलगायत नेता तथा कार्यकर्ता अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल  पुगे। उहाँको स्वास्थ्य अवस्था नाजुक भएपछि कान्छी छोरी लीजा अधिकारी दुबईबाट शुक्रबार काठमाडौँ आइपुग्नुभएको थियो । यसैगरी जेठी छोरी डा. लुना अधिकारी सिक्किमबाट शनिबार काठमाडौँ आइसक्नुभएको छ । यसैबीच मनमोहन स्मृति प्रतिष्ठानले शोक वक्तव्य जारी गरी समवेदना प्रकट गरेको छ । 


अधिकारी : लोकप्रिय कार्यक्रमका सूत्रधार
‘आफ्नो गाउँ आफैँ बनाऊँ’ र वृद्धभत्ताजस्ता लोकप्रिय आर्थिक तथा सामाजिक कार्यक्रमका सूत्रधार अधिकारीको जन्म महोत्तरीको भ्रमरपुरामा १९९३ साल वैशाख २२ गते भएको हो । अधिकारी पछि मोरङको विराटनगर–१० मा बस्न थाल्नुभएको हो । 
१५ वर्षको उमेरमै २००८ सालमा राजनीतिमा प्रवेश गर्नुभएका अधिकारीले आधा शताब्दीभन्दा बढी समय नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रियतासाथ योगदान पु¥याउनुभयो । आन्दोलनका क्रममा चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताउनुभएका अधिकारी मोरङ जिल्लाबाट वि.सं. २०४८, २०५१ र २०५६ गरी तीनपटक प्रतिनिधिसभाको सदस्य हुनुभएको थियो । उहाँ २०६४ सालमा संविधानसभा सदस्य बन्नुभएको थियो । 
अधिकारी २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि ‘नेपाल अधिराज्यको संविधान २०४७’ निर्माण आयोगको सदस्य हुनुहुन्थ्यो । 
तीनपटक अर्थमन्त्री र दुईपटक उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका अधिकारीले अर्थमन्त्री हुँदा २०५१ सालमा ल्याउनुभएको ज्येष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफैँ बनाऊँ जस्ता कार्यक्रम लोकप्रिय भएका थिए । 
उहाँले तत्कालीन नेकपा (एमाले)को पाँचौँ, छैटौँ, साताँै र आठाँै महाधिवेशनमा मूल आयोजक समितिको संयोजक भएर काम गर्नुभएको थियो । छैटौँ, सातौँ र आठाँै महाधिवेशनबाट स्थायी कमिटीमा निर्वाचित हुनुभएका अधिकारीले २०७१ सालको नवौँ महाधिवेशनमा पार्टी राजनीतिबाट अवकाश लिने घोषणा गर्नुभएको थियो । त्यसपछि लेखन र अध्ययनमा लाग्नुभएका अधिकारीका नेपालमा औद्योगिकीकरणका समस्या, मेरो जीवनयात्रा, मेरो जीवनयात्रा–भाग २ लगायत लेखरचना प्रकाशित छन् । अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक अधिकारी कानुन व्यवसायी पनि हुनुहुन्थ्यो । 
उहाँका श्रीमती ओमकुमारी अधिकारी एवं तीन छोरी डा. लुना अधिकारी, लीमा अधिकारी र लीजा अधिकारी हुनुहुन्छ ।