व्यापारी केडिया अपहरणबारे सदनमा जवाफ दिदै के भने गृहमन्त्रीले ?

काठमाडौं,१८ जेठ ।

बाराबाट हालै अपहरणमा परेका व्यापारी सुरज केडियाको अपहरण भएको विषयबारे गृहमन्त्री शक्ति बस्नेतले सदनलाई जानकारी गराएका छन्।

बस्नेतले भने,‘ केडियालाई बि आर ३२३९ नम्बरको सेतो जीपमा आएका मानिसले गोली प्रहार गरी बाटोबाट अपहरण गरी भारततर्फ लगियो। त्यसलगत्तै सशस्त्र प्रहरीको कमाण्ड पोष्ट खडागरी त्यहाँको अध्ययन गरी भारतीय सुरक्षाकमीसँग समन्वय गरी खोजी कार्य भयो।’

विहार राज्य र नेपाल प्रहरीको संयुक्त प्रयासमा भारतको मोतियारीबाट केडियाको सकुशल उद्दार भएको जानकारी उनले संसदलाई गराए।

यसबारे विस्तृत अनुसन्धान भइरहेको भन्दै नेपाल तर्फ ३ र भारतीय तर्फ १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।

यसैबीच देशका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट हुन गएको धनजनको क्षतिको विवरण मन्त्री बस्नेतले सदनमा पेश गरेका हुन्।

देशका विभिन्न भागमा भएको अतिबृष्टी, खण्डबृष्टी र लामो खडेरीका कारण जनजीवन प्रभावित भएर कतिपय ठाउँमा आगलागी, बाढी पहिरो र चट्याङका कारण भएको क्षति अनुसार मंसिरदेखि अहिलेसम्म आगलागिबाट ७६ जनाको निधन र १५ जना घाइते भएको बताए।

उनले ३६ सय १० घरपरिवार आगलागिबाट प्रभावित भएको बताए।

बैशाख १ गतेदेखि अहिलेसमम बाढी पहिहिरोको कारण १७ जना र चट्याङबाट २८ जनाको निधन भएको जानकारी सदनलाई दिए।

हामीले आवश्यक राहत र उद्दारका लागि स्थानीय सुरक्षाकर्मी परिचालन गरी मृतक परिवारलाई ४० हजार उपलब्ध गराइएको बताए।

मन्त्रिपरिषदको निर्णय अनुसार ७२ मंसिर यता आगलागि घरपरिवारका लागि आवासका लागि राहतको व्यवस्था गर्ने निर्णय भएको उनले बताए।