प्रतिपक्षको माग संबोधन गर्न सरकार तयार
काठमाडौ,१८ जेठ ।
सरकारले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको मागलाई संबोधन गर्ने भएको छ ।
बजेट भाषण गर्नुपूर्व नै संचारमाध्यमलाई जानकारी दिएको भन्दै प्रमुख प्रतिपक्षले छानवीन समिती गठन गर्न माग गर्दै हिजोको संसदमा विरोध गरेको थियो । सत्ता पक्षिय पार्टी प्रतिपक्षको मागलाई संबोधन गर्न तयार भएका छन् ।
सत्तारुढ दलको आज विहान बसेको संयुक्त बैठकले प्रमुख प्रतिपक्षी कंग्रेसको संसदीय छानविन समिति गठनको मागमा सहमति जनाएको हो ।
व्यवस्थापिका संसदमा बजेट सार्बजनिक हुनु अघिनै बजेटका महत्वपूर्ण विषय सार्वजनिक भएका थिए े । संसदमा जारी गतिरोध अन्त्यका लागि छानविन समिति गठन गर्न सत्तारुढ दल तयार भएको एमाले बरिष्ठ नेता झलनाथ खनालले संचारकर्मीलाई जानकारी दिए । उपप्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले बजेटको गोपनीयताको मापदण्डको विषयमा समेत बैठकमा छलफल भएको बताए ।
यसअघि पनि बजेटका कतिपय विषय पहिले नै सार्वजनिक हुने गरेको भन्दै गोपनीयताको मापदण्ड तोकिनु पर्नेबारे बैठकमा कुरा भएको मन्त्री मैनालीको भनाई छ ।
यसैबीच छानविन समिति गठन गर्न सत्तारुढ दल तयार भएसंगै सो विषयमा थप छलफल गर्न सर्वदलीय बैठक बस्ने भएको छ ।
नयाँबानेश्वरमा बस्ने बैठकमा संसदीय छानविन समिति गठन, बजेट गोपनीयताको मापदण्ड लगायत विषयमा छलफल हुनेछ ।