निङ्गाला घारीमा बन्दुक लुकाएर संसद आएका थियौं – प्रचण्ड
काठमाडौं, १४ जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सधैं गतिशिल रहेको बताएका छन् ।
उनले बस्तुगत परिस्थिति अनुसार पार्टीका रणनीति र कार्यनीतिहरु परिबर्तन हुने बताउँदै यसलाई बुझ्न धेरैलाई कठिन हुने दाबी गरे ।
क्रान्तिकारी पत्रकारहरुसंगको छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी गतिशील भएको प्रसंगलाई जोड्दै २०४६ सालको आन्दोलन अघि नै आफुहरुले जनयुद्ध गर्नका लागी फौजी तालीम र बन्दुक तयार गरिसकेको तर त्यतिबेला परिस्थिति अनुकुल नभएपछि आफुहरुसंग भएको बन्दुक पनि निङ्गाला घारीमा लुकाएर संसदीय राजनीतिमा सहभागी भएको औंल्याए ।
उनले भने, परिस्थिति अनुसार कार्यनीतिहरु परिबर्तन हुन्छ , त्यसैले ०४८ सालमा बन्दुक लुकाएर संसदमा भाग लिएपनि ०५२ सालमा जनयुद्धको शुरुवात गरेका हौं ।
धेरैले माआवादी शान्तिप्रक्रियामा आउने कुरामा शंका गरेपनि आफुहरु बन्दुक बिसाएर शान्तिप्रक्रियामा आएको बताए ।
शान्तिप्रक्रिया पश्चात माओवादी चिराचिरामा बिभाजीत भएपनि फेरी अहिले एक भएकोले अरु पार्टीभन्दा आफ्नो पार्टी सधैं फरक रहने गरेको प्रचण्डको भनाई छ ।
एकतापद्धि माओवादीको संगठनमा भद्रगोल भएको टिकाटिप्पणी हुने गरेपनि एकता प्रक्रिया ऐतिहासीक आत्माआलोचनाबाट मात्र संभव भएकोले यो माओवादीको नीति अनुसार नै भएको प्रचण्डले स्पष्ट पारे । एकता हुदाँ कोही कसैमा बिलय भएको नभई सबैले आफ्नो गल्ती स्वीकार गर्दै देश र जनताका लागी एकिकरण भएको धारणा राखे ।
प्रचण्डले एकता प्रक्रियामा आउन बाँकी रहेका मोहन बैद्य किरण , बाबुराम भट्टराई र बिप्लवसमेत एकदिन एकतामा आउने बिश्वास व्यक्त गरे र उनीहरुप्रति अनावश्यक टिप्पणी आफुले नगर्ने पनि बताए ।
नेपाल अहिले इतिहासमा कठिन मोडमा रहेकाले माओवादीको एकताले मात्रै राष्ट्रलाई एकताबद्ध गर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले एकता अहिलेको अपरिहार्य आबश्यकता भएकोले सबै क्रान्तिकारीहरुका लागी एकताको बिकल्प नभएको भनाई व्यक्त गरे । कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका प्रतिनिधीहरुले संचार क्षेत्रका बिषयमा धारणा व्यक्त गरेका थिए ।