शेरबहादुर देउवा र रुक्माङ्गत कटुवाल बिरुद्ध मुद्धा दर्ता

27052016125811Duwa_Katuwal-1000x0

काठमाडौं,१४ जेठ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा शेरबहादुर देउवा र पूर्व सेनापति रुक्माङ्गत कटुवाल बिरुद्ध मुद्धा दर्ता भएको छ ।

कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका जोगीमाराका चेपाङ मजदुरहरुका आफन्तजनहरुले धादिङको शान्ति समितिमा देउवा र रुक्माङ्गत बिरुद्ध उजूरी दर्ता गराएका छन् ।

जोगीमाराबाट बिहीवार सदरमुकाम पुगेका १४ जना मृतकका परिवारजनले आवश्यक कारबाही लागि तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा, तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कटुवाल, तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतीबिरुद्ध उजूरी दर्ता गराएका हुन् ।

द्वन्द्वकालमा सेनाको कारबाहीमा २०५८ फागुन ११ गते ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका मजदुर थिए ।

‘घटनाबिरुद्ध हामीले सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते उजूरी दर्ता गराए पनि हालसम्म फैसला भएको छैन । न्याय नपाएपछि पुन सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरेका हौं’, उक्त घटनामा मारिएका जोगीमारा–५ हेकराङ्गका ६० वर्षीय तिलु चेपाङका छोरा गोविन्द चेपाङले भने । गोविन्दका अनुसार थप ३ जनाका आफन्तजनहरु पनि उजुरीका लागि आउदैं छन् ।

उजूरी दिने १४ परिवारहरुमा कुम्ले, सानुकान्छा, तिलु, डिला चेपाङ लगायत १४ घर चेपाङका विष्णु , वुद्धिवीर, गोविन्द लगायतले उजुरी दर्ता गराएका हुन् भनेर कान्तिपुरमा धादिङ्बाट हरिहरसिंह राठौरले खबर लेखेका छन् ।

पीडितहरुले हालसम्म सरकारबाट ५ लाख रुपैयाँ राहत रकम पाएका छन् ।