
संसद नियमावलीमा अझै सहमती भएन
काठमाडौं, १४ जेठ ।
संसद् नियमावलीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीले बोलाएको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सभामुख घर्तीले आज सिंहदरबारमा बोलाएको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेतासहित सचेतकहरुको बैठक बिनानिष्कर्ष टुंगीएको हो ।
बैठकमा ठोस सहमति जुट्न नसकेपछि बजेटपछि पुनः छलफल गरिने नेताहरुले बताएका छन् ।
बैठकमा नेपाली कांग्रेसले पुरानै संसद नियमावलीअनुसार संसदीय सुनुवाई विशेष समितिमा रहने सदस्यहरुको संख्या ७५ राख्नुपर्ने अडान राखेको थियो । तर नेकपा एमाले र एकीकृत माओवादीका नेताहरुले भने नयाँ संविधान कार्यान्वयन गर्नुपर्ने भन्दै १५ सदस्यीय समिति गठन गर्नुपर्ने बताएका थिए ।
संसदीय सुनुवाई विशेष समितिमा रहने सदस्य संख्याको विषयलाई लिएर लामो समयदेखि संसद् नियमावली बन्न सकेको छैन । संसद नियमावली मस्यौदा समितिले नियमावलीलाई अन्तिम रुप दिन नसकेपछि यसलाई अब संसद्ले टुंग्याउने जिम्मेवारी पाएको छ ।
