यो बर्षको इच्छु्क स्मृति पुरस्कार कुँवर र थानीलाई
इच्छुक साँस्कृतिक प्रतिष्ठान ,घट्टेकुलो काठमाडौले हरेक वर्ष प्रदान गर्दै आएको ‘इच्छुक स्मृति पुरस्कार’ यो वर्ष प्रगतिशील साहित्यमा क्रियाशील लेखक तथा साहित्यकारद्वय राजबहादुर कुँवर र चन्द्रा थानीलाई संयुक्त रुपमा प्रदान गरेको छ ।
प्रतिष्ठानले बुधबार आयोजना गरेको इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवश एवं इच्छुक स्मृति पुरस्कार वितरण समारोहमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष एव प्रतिष्ठानका संरक्षक वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य चैतन्य ले उनीहरुलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गरेका हुन् ।
कुँवर ताम्ती १ जुम्ला निवासी हुन् । २०४३ साल साउन १७ मा बुवा लछु कुँवर र आमा बास्मतीको कोखबाट दोस्रो सन्तानका रुपमा जन्मिएका कुँवर १४ बर्षको कलिलो उमेरमा २०५६ फागुन २१ मा जनयुद्धमा पूर्णकालीन भएका थिए । २०५८ मा अखिल नेपाल जनसांस्कृतिक संघको क्षेत्रिय सदस्य हुँदै २०६० मा सचिव र २०६३ मा केन्द्रिय सदस्य भएका थिए ।
उनका शहीद हस्ताक्षर कविता संग्रह,२०६६ मा बलिदानका गाथाहरु संस्मरण संग्रह लगायत थुप्रै साहित्यीक रचनाहरु प्रकाशित छन् ।
त्यस्नै थानी सुर्खेत निवासी हुन् । उनका पनि थुप्रै साहित्यीक कृतिहरु प्रकाशीत छन् ।२०१७ सालमा जन्मिएकी थानी निरन्तर साहित्यमा कलम चलाउने सुर्खेती महिला साहित्यकार हुन् ।
त्यसैगरी ‘इच्छुक प्रतिभा पुरस्कार’ भारतीय नेपाली साहित्य, कला र संस्कृतिको क्षेत्रमा लामो समयदेखि क्रियाशील भारत कालेबुङकी भीमा राई तोलाछालाई प्रदान गरिएको छ । कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ काभ्रेका अक्कलबहादुर पाख्रिन असललाई प्रदान गरिएको छ ।
इच्छुक स्मृति पुरस्कारको राशी एक लाख रहेको छ भने प्रतिभा पुरस्कारको राशी जनही पच्चिस पच्चिस हजार रहेको छ ।