बर्तमान सरकार परिबर्तन हुँदैन – देव गुरुङ

काठमाडौं, १२ जेठ ।

dev-gurung1

नेकपा माओवादी केन्द्र हेडक्वाटर सदस्य देब गुरुङले छिनछिनमा सरकार परिवर्तन गर्दा मुलुक अस्थिरता तर्फ धकेलिने भन्दै अहिले यही सरकारलाई निरन्तरता दिनु पर्ने बताएका छन ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सरकार परिवर्तन राष्ट्रिय सहमति भयो भने मात्रै हुने हो । अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको सम्भावना छैन ।

काग्रेस संसदीय अभ्यासमा रहेकोले सहमतिको सरकार बन्न सक्ने अवस्था छैन । त्यसैले अहिले सरकार परिवर्तनको मुद्दा सान्दर्भिक छैन । ’ उनले अहिले माओवादी केन्द्र भित्र सरकार परिवर्तनको विषयमा कुनै छलफल समेत नभएको स्पष्ट पारे ।

गुरुङले मुलुकको समस्या समाधान गरेर अगाडि बढाउन राष्ट्रिय सहमतिको आवश्यकता भए पनि स्थायी प्रतिपक्षको ब्यवस्थाले त्यस्तो अवस्था नरहेको स्पष्ट पार्दै यसले मुलुकलाई घाटा पार्ने बताए ।
उनले मधेसीसहित आदीबासी जनजातिको माग आधारभुत रुपमा ठिकै भएकोले त्यसलाई संबोधन गर्नु पर्ने भन्दै राज्य पक्षले सहमतिको लागि लचकता अपनाउनु पर्ने धारणा राखे ।
गुरुङले भने,‘ आन्दोलनरत र अरु दलको पोजिसन हेर्दा सहमतिको सम्भावना देखिन्छ । त्यसैले अहिले सहमतिकोलागि सबैले पहल गर्नु पर्छ ।’