भारतीय गाडीको ठक्करबाट मोटरसाईकल चालक बाबुको मृत्यु ,छोरी घाईते
धादिङ, जेठ १२ ।
पृथ्वीराजमार्ग अन्तर्गत आज धादिङको गजुरी–२ चालिसेमा मोटरसाइकललाई भारतीय गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बरको एमएच सिके २११४ नम्बरको गाडीले चितवनबाट काठमाडौँ तर्फ आइरहेको ना ९ प ५३३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर नगरपालिका–१० चितवनका ४५ वर्षीय कृष्णभक्त पुडासैनीको मृत्यु भएको हो ।
पुडासैनीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बस्ने मृतककी छोरी १९ वर्षीया मनु पुडासैनी घाइते भएकी छिन् । घाइतेको उपचार भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने गाडीले काठमाडौँ आउँदै गरेको ना ४ ख ६७५ नम्बरको बसलाई पनि ठक्कर दिएको थियो । तर बसमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । रासस