किराँती गणतन्त्र टावर फाउण्डेशन नेपालको पाँचौ साधारण सभा सम्पन्न

temke1

 

किराँती गणतन्त्र टावर फाउण्डेशन नेपालको पाँचौ साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभाले अध्यक्षमा गोपाल किराँतीलाई चयन गर्दै ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका छ । समितिको महासचिवमा रामकुमार राई, सचिवमा उत्तमकुमार बस्नेत र कोषाध्यक्षमा सन्तोष सुनार चयन भएका छन् । अनुगमन समितिको संयोजकमा रामचन्द्र राईलाई तोकिएको छ ।
साधारण सभाले टावर निर्माण कार्यलाई सम्पन्न गर्न बजेट निर्माण समिति समेत गठन गरेको छ ।

समुन्द्र सतहबाट ३०१० मिटर उचाइमा रहेको टेम्केमा किरात गणतन्त्र टावर निर्माण भईरहेको छ ।पहाडी क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास एवं अत्याधुनिक संस्कृति केन्द्र स्थापित गर्नका लागी टावर निमार्ण गर्न लागिएको टावर फाउन्डेशनले जनाएको छ । संघीय गयतन्त्र नेपालको पूर्व पहाडी क्षेत्रमा अवस्थित टेम्के डाँडा पुरानो जिल्ला विभाजन अनुसार खोटाङ र भोजपुर जिल्लाको ठीक बीचमा पर्छ । सन् २००९ बाट संस्थागत पहल भएको थियो। २० मिटर गहिरो जग खन्ने काम, ४० मिटर गहिरो तहसम्म खनेर माटो परीक्षण, निर्माण सामग्री ढुवानीका लागि साँढे सात किलोमिटर सडक निर्माण र १४ कोठाको २ तले बेसक्याम्प भवन निर्माण भइसकेको छ ।

स्थानीय गाउँ विकास समिति र तत्कालीन एकीकृत नेकपा माओवादी एवं हालको नेकपा माआवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका गोपाल किराँतीको पहलमा यो टावर निर्माण हुन लागेको हो । हालसम्म टावर निर्माणका लागी अनुदान तथा ऋण समेत गरी एक करोड चौहत्तर लाख लगानी भइसकेको छ । टावर निर्माण कार्यका योजना प्रमुख तेम्बा शेर्पाद्वारा अघिल्लो बर्षको साधारण सभामा प्रस्तुत तथा साधारणसभाद्वारा स्वीकृत अनुमानित लागत नेपाली रुपैया उनान्सय करोड करीब एक अर्ब बजेट लाग्ने छ । साथै चारवटा मिनी ग्रेटवाल, विमानस्थल, टेम्के चक्रपथ, साँस्कृतिक सम्पदा गाउँ, लाइट एण्ड साउण्ड सिस्टम, विद्युत व्यवस्थापन, तावा पोखरी र टेम्के–हलेसी केवलकारमा योगदान समेत गर्दा तीन अर्ब बजेट अनिवार्य लाग्ने फाउन्डेशनले जनाएको छ ।