लो भिजिविलिटीले उडान प्रभावित, अन्तराष्ट्रिय उडानमा धेरै समस्या, सुधार हुँदै अवस्था

मूलखबर संवाददाता
काठमाडौं, १ चैत ।

प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको उडान सामान्य प्रभावित भइरहेको छ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार मौसममा आएको खराबीका कारण अन्तरराष्ट्रिय हवाई उडान बढी प्रभावित भइरहेको छ । नेपालमा अहिले प्रि–मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तरराष्ट्रिय उडानका जहाज होल्ड र मिस एप्रोच हुने गरेको प्रवक्ता शेर्पाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानका जहाज काठमाडौँ विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘जिरो टु’बाट मात्रै अवतरण गर्नुपर्ने हुन्छ । आन्तरिक उडानका जहाजलाई लामो रनवे भएकाले दुवैतर्फबाट अवतरण गर्न मिल्ने भएकाले त्यतिधेरै समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गरेको थियो ।

त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ चार फन्को मारेपछि भर्खरै काठमाडौँमा अवतरण भएको फ्लाइट राडर्डले जनाएको छ । सँगै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केहीबेरदेखि होल्डमा परेको थियो ।

आजबाट माैसम सफा भएसँगै अवस्थामा सुधार आएको विमानस्थलले जनाएको छ ।