प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द भएको नेपालकाे दावी

मूलखबर संवाददाता
काठमाडौं, १८ पुस

नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त गर्न नसकेको बताए ।

कुनै पनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताउँदै अध्यक्ष नेपालले विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गरे । उनले भैरहवा विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न समेत गरे । हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्ने बताउँदै उनले काठमाडौँस्थित त्रिभूवन विमानस्थलको विकल्प निजगढ विमानस्थल हुने दाबी गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले फेरि मैले सुनिरहेको छु कतिपय ठाउँहरुमा डोमेस्टिक एयरपोर्टहरु निर्माणको काम हुन थालिरहेको छ । १६ भन्दा बढी विमानस्थलहरुमा जहाज ओर्लिदैनन्, जहाँज पुग्दैनन् । त्यो संख्या अझै १८ पुगिसकेको होला । त्यसको पनि अर्को चोटि रिपोर्ट आओस् । मैले मन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु । विमानस्थल सञ्चालनको स्थिति र विमानस्थलको उपयोगको बारेमा जानकारी पाउनुपर्यो । बनेका वमानस्थलहरुमा त्रुटी भएको छ कि छैन ? पत्रिकामा पढेको त ओर्तिर पनि विमानस्थल बन्न सुरु भइसकेको छ । नाम भनौं त्यहाँका सांसदहरुलाई फेरि पिर पर्ला । पोखराको हालत त्यही, लुम्बिनीको हालत त्यही, जतिसुकै बल गर्यौं भने पनि लुम्बिनी विमानस्थल जुन ठाउँमा बनेको छ त्यो चल्ने अवस्था छैन भन्ने सबैतिरबाट सुनिन्छ । भारतको सिमानाभन्दा कति टाढा राख्दाखेरि त्यो हुन सक्दछ ? कहिले बनाउन सक्दा हुुनुपर्दछ ? यी सबै विषयमा त्यसलाई क्षेत्रिय विमानस्थलको रुपमा संचालन गर्नु एउटा कुरा भयो । बनाउनै काठमाडौंको विकल्पमा बन्नुपर्ने विमानस्थलमा निजगढ हो । लुम्बिनी विमानस्थल कस्को दबाबमा बनाइयो ?’