प्रचण्डको नेतृत्वमा ९ जनाको कार्यालय टिम निर्माण गर्दै माओवादी केन्द्रको वैठक सकियो
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ९ जनाको केन्द्रिय कार्यालय टिम निर्माण गर्दै नेकपा माओवादी केन्द्रको प्रथम वैठक सकिएको छ । राजधानीकै एक पार्टी प्यालेशमा हिजोदेखी बसेको वैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा ९ जनाको केन्द्रिय कार्यालय टिम निर्माण गरेको हो । कार्यालय टिममा अध्यक्ष प्रचण्ड , नारायणकाजी श्रेष्ठ , रामबहादुर थापा बादल , कृष्णबहादुर महरा , देव गुरुङ , मातृका यादव , मणी थापा , जयपुरी घर्ती र तिलक परियार रहेका छन् ।
माओवादी केन्द्रले ५१ जनाको सचिवालय बनाउने पनि निर्णय गरेको छ । त्यस्तै १ सय ५१ जनाको पोलिट व्यूरो बनाउने निर्णय गरिएको माओवादीले जनाएको छ । त्यसको लागी कार्यलय टिमले १ हप्ताभित्र यसको निर्णय गर्नेछ ।
माओवादी केन्द्रले बहुपदीय संरचनामा जाने निर्णय तत्कालका लागी स्थगीत गरेको छ । माओवादी घटकहरुबीच एकता भएपछि बहुपदीय संरचनामा जाँदा पद बाँडफाँडमा कुरा मिल्न गाह्रो भएपछि माओवादी केन्द्र अहिले एक पदीय संरचनामा रहेको छ । अध्यक्ष प्रचण्ड बाहेक अन्य पदहरु सृजना गरिएको छैन ।
आइतबारदेखि बत्तिसपुतलीस्थित पार्टी प्यालेसमा बसेको एकतापछिको प्रथम केन्द्रीय समिति बैठकमा प्रचण्डले एक पदीय संगठनमा जाने वा बहुपदीयमा जाने भन्नेमा दुवै विकल्प खुल्ला राख्दै सुझाव मागेका थिए । बहुपदीय संरचनामा जाँदा पाँच उपाध्यक्षसहित १३ पदाधिकारीको प्रस्ताव पनि प्रचण्डले विकल्पका रुपमा अघि सारेका थिए ।
पहिलो विकल्पमा अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरु, सचिवहरु र कोषाअध्यक्षसहित पोलिटव्यूरोसम्मका संरचना बनाउने अथवा दोस्रो विकल्प स्वरुप अध्यक्ष, कार्यालय टीम र पोलिटव्यूरोसम्मको संरचना बनाएर जानेबारेमा प्रस्ताव गरिएको थियो ।
आजको वैठकमा अध्यक्ष प्रचण्डले भने,’ केन्द्रीय समितिको संख्या आगामी महाधिवेशनले चुस्त बनाईहाल्छ, यसमा चिन्ता नलिनुस् । अब हरेक सिसिएमलाई गाँउ पठाईन्छ यसमा पनि ढुक्क हुनुस् । अहिले ुसंख्याु भन्दा पनि पार्टी एकताको ुसन्तुलनु मा जोड दिनुपर्ने अवस्था छ, यत्ति कुरा बुझिदिनुस् ।’