
माओवादी केन्द्रको आज पनि बैठक
काठमाण्डौं, १० जेठ ।
हिजोदेखी शुरु भएको नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दैछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल हुने भएको छ । पदाधिकारीको संख्या बढाउनेसहितको प्रस्तावमा नेताहरुले आ आफ्नो भनाई राख्ने छन् । अध्यक्ष प्रचण्डले हिजो सुरु पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा पार्टीको सांगठनिक संरचना र नेताहरुको कार्य विभाजनका सन्दर्भमा प्रस्ताव गरेका छन् ।
आज त्यही विषयमा सदस्यहरुले भनाई राख्नेछन् । आयोजक समितिको बैठक बस्नु अगाडी नेताहरु पदीय जिम्मेवारी मिलाउन छलफलमा रहेका छन् । १० माओवादी घटक मिलेर बनेको केन्द्रको पहिलो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक एजेन्डा पेश गर्दै जेठ भित्र सबै जिल्लामा एकता भेला आयोजना गर्ने प्रस्ताव राख्नेका छन् ।
पार्टीमा ५ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष बनाउने प्रचण्डको प्रस्ताव छ । पार्टी एकतापछि केन्द्रीय समिति ठूलो भएकाले पूरानो एमाओवादीको पार्टी कार्यालय पेरिस डाँडामा नअटेपछि एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक राखिएको छ । आजको बैठक दिउँसो १ बजे बोलाइएको छ
