
प्रधानमन्त्रीबिरुद्ध बालुवाटारमा नेविसंघको व्यङ्ग्यात्मक प्रदर्शन
काठमाडौं,१० जेठ ।
मुलुकमा व्याप्त कालोबजारी, महंगी र शैक्षिक माफिया विरुद्ध नेविसंघले प्रधानमन्त्री निवास वालुवाटार अगाडी व्यङ्गयात्मक प्रदर्शन गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थीले प्रदर्शनका क्रममा ‘ओली एक्सप्रेस रेल’, पानीजहाज, ग्यास सिलिन्डर, पानीको जार र थाल सडकमा प्रदर्शनमा राखेर विरोध गरेका हुन् ।
उनीहरुले ‘ओली भाषामा देश चलायौ, सपना बाँडेरै रमायौ, महंगीको मारले रुवाउनसम्म जनता रुवायौं, ओलीजीको पारा नी देखियो’ जस्ता नारासहितका व्यानर प्रदर्शनमा ल्याएका थिए । विद्यार्थीहरुले करिब एकघण्टासम्म सडक जाम गरेर ‘शैक्षिक माफिया होसियार’, ‘कालो बजारी अन्त्य गर, मंहगी नियन्त्रण गर’ भन्दै चर्को नारा लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै नेविसंघका नेता दीपक भट्टराईले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरे ।
त्यसैगरी अर्का नेता लिलाबल्लभ दाहालले कालाबजारीको संरक्षणमा सरकार लागेको भन्दै आफूहरु अब बजार अनुगमनमा जाने बताए । उनले सरकारले भूकम्पपीडित जनताको नाममा केही गर्न नसकेको आरोपसमेत लगाए ।
