
डा. भट्टराईले भने- ‘एकतातिर होइन ध्रुविकरणतिर’
काठमाडौं, ७ जेठ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फुटेका १० माओवादी धारालाई एकता गराएर नेकपा माओवादी केन्द्र घोषणा गरेलगत्तै एमाओवादी परित्याग गरि नयाँ शक्ति अभियान बनाएका डा बाबुराम भट्टराईले भने आफू एकतातिर नभई धु्रविकरणतिर लागेको स्पष्ट पारेका छन् ।
पार्टी घोषणा बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने हामी ‘हामी अहिले एकताभन्दा पनि ध्रुवीकरणको पक्षमा छौं । एकता र ध्रुवीकरण दुई फरक विषय हुन् ।’उनले प्रचण्डको एकताको प्रस्तावबारेको जवाफमा त्यसो भनेका हुन् ।
बिहिबार मात्र टुक्रिएका १० माओवादी घटकहरुबीच भएको एकीकरण कार्यक्रममा बोल्दै प्रचण्डले भट्टराईलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गरेका थिए । भट्टराईले आफूहरु टुटेको हाँगा रुखमा जोड्नुभन्दा नयाँ रुखनै उमार्न लागेको तर्क पेश गरेका थिए । तर त्यसो भनिरहँदा आफूहरु सकारात्मक सोच राख्ने बताउँदै प्रतिक्रियाको राजनीति गर्न नचाहेको स्पष्ट पारे ।
‘उनले अरुको भन्दा भिन्न तरिकाले आफूले पार्टी निर्माण गर्न खोजेको जानकारी दिए । उनले भने हाम्रो पार्टी घोषणा पनि नयाँ तरिकाले हुन्छ,’सबै सदस्यले सामुहिक सपथ लिन्छन् र प्रतिबद्धता जनाउनेछन् ।’
उनले राष्ट्रिय भेलामा तीनवटा राजनीतिक प्रतिवेदन पेश हुने जानकारी दिँदै ती प्रतिवदेनलाई जेठ ११ र १२ गतेको बैठकले अनुमोदन गर्ने र भेलाले पारित गर्ने बताए ।
प्रधानमन्त्री ओलीले अहिले राष्ट्रिय समस्याबाट ध्यान अन्यत्र मोड्न उट्पट्याङ कुराहरु गरिरहेको भट्टराईले आरोप लगाए।’
उनले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको घोषणा जेठ ३० गते दशरथ रंगशालाबाट गर्ने योजना उनले सुनाएका छन् ।
