हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कनमा हेरफेर गर्नुपर्ने –कांग्रेस महामन्त्री

काठमाडौं, ७ जेठ ।

sasanka
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्नुपर्ने बताएका छन् ।

शुक्रबार दाङमा आयोजीत साक्षात्कार कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन हुनसक्ने बताए ।

संविधानसभाबाट बनाइएको संविधान परिवर्तनीय भएको जिकिर गर्दै उनले विवादित विषयलाई जनताले टुङ्गो लगाउन पाउनुपर्ने बताए ।

उनले प्रश्न गरे, ‘८० प्रतिशत हिन्दू भएको देशलाई धर्मनिरपेक्ष कसरी घोषणा गर्न सकिन्छ र ?’

जनताको आकांक्षालाई समयमै सम्बोधन नगरे यसले भविष्यमा द्वन्द्व निम्त्याउन सक्ने उनको भनाई थियो । उनले भने, ‘यसलाई समयमै जनमत सङ्ग्रह वा जनताको भावनाअनुसार सच्याउनु पर्छ ।’

उनले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबीसमेत गरे । सरकार परिवर्तनमा कांग्रेसले भूमिका निर्वाह गरिरहनु नपर्ने प्रष्ट पार्दै उनले भने, ‘यो सरकार आफ्नै कारणले ढल्छ ।’