किरण, बाबुरामलाईं पनि एकतामा आउन प्रचण्डको आह्वान,गाउँ गाउँमा सीसीएम खटिने
काठमाडौं,६ जेठ ।
नवगठित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन वैद्य किरण र नयाँ शक्ति बनाउन हिँडेका डा. बाबुराम भट्टराईलाई पनि एकतामा आउन अपील गरेका छन् ।बरिष्ठ बामपंथी नेता कृष्णदास श्रेष्ठको अध्यक्षतामा भएको माओवादी पार्टीहरुबीचको एकता घोषणा सभामा प्रचण्डले यस्तो अपिल गरेका हुन् ।
उनले घोषणा सभामा संबोधन गर्र्दै माओवादीहरुको पराजयका दिन सकिएको बताए ।उनले भने, ‘माओवादीका पराजयका दिन सकियो । विजयको दिन सुरु भएको छ ।’
प्रचण्डले भने, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका परिवर्तनका एजेण्डाहरु पराजय हुने दिन सकिए । माओवादीहरुलाई कमजोर पार्न, अपमानित गर्ने प्रवृत्तिको पराजयको दिन सुरु भयो । जनताको विजयको दिन सुरु भयो ।’
पार्टी एकता, माओवादीहरुको एकता मात्र नभई सच्चा कम्युनिष्टहरुको राष्ट्रिय एकता पनि भएको उनले बताए । यो एकता वृहत शान्ति सम्झौता अनुसार सत्य निरुपणको काम गर्ने सुनिश्चित भएको उनले दाबी गरे । उनले भने, ‘माओवादीलाई कमजोर पारेपछि राजतन्त्र फर्काउने सपना देखेकाहरुको मृत्युको दिन सुरु भयो ।’
प्रचण्डले यो वर्षको अन्त्यसम्म पार्टीको महाधिवेशन गर्ने र कार्यदिशालाई विकसित गर्दै जाने बताए ।
पुरै विजयी नभएको तर, सुरुवात भएको भन्दै उनले सडक, सदन र सरकारबाट संघर्ष गर्ने बताए । स्थानीय, प्रादेशिक र केन्द्रको चुनावमा जाने र शान्ति प्रक्रियामा आउँदाको दिनमा जस्तै पार्टीलाई जीवन्त बनाउने समझदारी भएको उनले बताए ।अब पुरानो कार्यशैलीले नचल्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘हाम्रा केन्द्रीय सदस्यहरु गाउँ(गाउँमा बसेर संगठन बनाउनेछन्, चमत्कार देखाउनेछन् । केही महिनाभित्र यो पार्टीलाई देशको शक्तिशाली पार्टी बनाउने प्रतिवद्धता गरेका छौं ।’
प्रचण्डका अनुसार पार्टी एकतापछि ६९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । यसको बैठक केही समयमा नै बस्ने जनसभा, भेला तथा संगठन विस्तार गर्ने काम सुरु हुने प्रचण्डको भनाई छ ।