एकीकृत माओवादीबाट विभिन्न समुहमा विभाजित भएका माओवादी पार्टीबीच भोली एकताको घोषणा हुँदैछ । १० बर्षे सशस्त्र बिद्रोहबाट शान्तिपुर्ण राजनीतिमा आएपछि विभिन्न सैद्धान्तिक र कार्यगत असन्तुष्टि जनाउँदै विभाजित भएका मध्ये क्रान्तिकारी माओवादीको रामबहादुर थापा समुह, मणि थापा समुह र विप्लप नेतृत्वको माओवादीका केही नेताले एकीकृत माओवादीसंग एकताको घोषणा गर्न लागेका हुन् ।
भोली हुने एकता प्रक्रियामा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन बैद्य पक्ष, नेत्रविक्रम चन्द र मातृका यादव नेतृत्वको माओवादी भने समावेश हुने छैनन् । पार्टी एकताका बिषयमा विवाद भएपछि क्रान्तिकारी माओवादी बिभाजित भएको छ ।
एकता घोषणाको कार्यक्रम बबरमहलको एक पाटी प्यालेसमा अपरान्हका लागि तय गरिएको एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । चन्द नेतृत्वको माओवादीका पोलिटव्युरो सदस्य तिलक परियार सहित केही नेता पनि एकतामा सहभागी हुने तयारीमा छन् ।
पार्टी एकतापछि बन्ने एकीकृत माओवादीको केन्द्रीय समिति भने जम्बो बन्ने भएको छ । ४ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी भएको प्रवक्ता शर्माले बताए । एकता प्रक्रियामा आउने दलबाट करिब १ सय ६० जना र एमाओवादीका अहिलेका सदस्य गरेर केन्द्रीय समिति बनाउन लागिएको हो ।