नेपालमा पनि पेट्रोलको अन्वेषण सुरु, आज मोरङको बाहुनीमा

काठमाडौं,५ जेठ ।

petrol
नेपालमा पनि अब पेट्रोलको अन्वेषण सुरु भएको छ । दैलेखबाट सुरु भएको अन्वेषण आज मोरङको बाहुनीमा पनि सुरु गरिएको छ । नेपाल र चीनका सरकारी प्राविधिकको संयुक्त टोलीले खानीको प्रारम्भिक अन्वेषण थालेको बताईएको छ ।

टोलीमा सात चिनियाँ र दुई नेपाली प्राविधिक छन् । सदरमुकाम विराटनगरबाट करिव ३७ किलोमिटर पूर्वउत्तरमा पर्ने बाहुनीको पेट्रोल खानीको अन्वेषण २५ वर्षदेखि रोकिएको थियो । नेपाल र चीनबीच भएको सम्झौता अनुसार खानी अन्वेषण गर्न झिन दाकिवुईको नेतृत्वमा चिनियाँ प्राविधिक टोली आएको छ ।

चीन सरकारको आर्थिक सहयोगमा पेट्रोल खानीको अन्वेषण हुने खानी तथा भूगर्भ विभाग पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले जानकारी दिए । रजौरेका अनुसार प्राविधिकको टोली एक सातासम्म बाहुनीमा बसी खानीको अन्वेषण गर्नेछ । प्रारम्भिक अनुसन्धान सकेपछि खानी पाइएको खण्डमा थप दोश्रो चरणमा उत्खनन् गर्ने काम अघि बढाइने छ ।