सञ्चार र मिडियासम्बन्धी सम्मेलन काठमाडौंमा सुरु

मूलखबर संवाददाता
काठमाडौं

सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आजबाट सुरु हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको क्यामेरा भवनमा सम्मेलन आयोजना गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गर्ने काठमाडौं सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढि अनुसन्धान प्रस्तुत हुनेछन् । सम्मेलनमा पत्रकारिताका प्राध्यापक पी. खरेलको बहुच्यालन र दर्शकको खण्डीकरण विषयमा विशेष प्रस्तुति रहेको छ । भारत, बंगलादेश र श्रीलंकाका विज्ञहरुको पनि प्रस्तुति रहेको छ ।

सम्मेलनमा कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचनाविरुद्धको लडाइ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, मिडिया र राज्यको सम्बन्ध, पत्रकारिताको दिगोपनाबारे सम्बन्धित क्षेत्रका विज्ञ, पत्रकार र अनुसन्धानकर्ताहरुबीच छुट्टा–छुट्टै संवाद गर्ने कार्यक्रम छ ।

सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. केदारप्रसाद रिजालले गर्ने कार्यक्रम छ । सम्मेलन दुई दिनसम्म चल्ने छ ।